बुटवल उपमहानगरले ल्यायो चार भाषाका बडापत्र

बुटवल, बैशाख ११ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले चार भाषामा नागरिक बडापत्र सार्वजनिक गरेको छ । नेपाली, थारु, मगर र नेवारी भाषामा बडापत्र मंगलबार सार्वजनिक गरी बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

बुटवल उपमहानगरमा बसोबास गर्ने नागरिकको जनसंख्याको आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गरेका हुन् । सेवाग्राहीलाई सहज रुपमा सेवा दिनका लागि सहज बनाउने उद्वेश्यले चार भाषामा नागरिक बडापत्र सञ्चालन गर्न लागिएको प्रमुख खेलराज पाण्डेयले बताए ।

अहिले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु भाषाका बडापत्र राख्ने गरी तयारी भएको प्रमुख पाण्डेयले बताए । स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकाले भूगोल अनुसार भाषामा फरक आउनसक्ने बताउंदै प्रमुख पाण्डेयले भने – भाषामा केही त्रुटी भएमा सच्चाउनु परेमा विज्ञहरुको सुझावको आधारमा सुधार गर्न सकिने छ, त्यसका लागि सबैको सुझाव र साथ सहयोग आवश्यक पर्छ

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिको सम्मान गर्दै ४ भाषामा बडापत्र तयार गरिएको बताइन । आगामी दिनमा अरु भाषाको पनि बडापत्र तयार गरिने बताउंदै विज्ञहरुको सुझाव र सल्लाहा अनुसार अरु भाषका बडापत्र ल्याइने बताइन ।

। बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्ने कामको सम्बन्धमा जानकारी सजिलै प्राप्त गर्न सकिने बुटवल उपमहानगरपालिकाकाले बताएको छ । सेवाग्राही के कामका लागि कुन शाखामा त्यस शाखाको कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने छ। कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ । बडापत्रलाई पुस्तकको रुपमा प्रशान गर्ने उपमहानगरपालिकाले बताएको छ ।