पाल्पामा एकै दिन ४० घरगोठ जलेर नष्ट

पाल्पा, बैशाख २१ गते । पाल्पामा जंगलमा लागेको डढेलो वस्तीमा पस्दा एकै दिन ४० बढी घरगोठ जलेर नष्ट भएका छन् । बुधवार राती पाल्पाको रामपुर नगरपालिका वडा नंं ४ र ५ पूर्वखोला गाउंपालिकाको वडा नंं ६ हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ४० बढी घरगोठ जलेका हुन् ।

जंगलमा लागेको आगो बस्तीमा पस्दा करोडौ रुपैयाको धनमाल, अन्नपात जलेर नष्ट भएको छ । पूर्वखोलाको हेक्लाङमा २९ घरगोठ जलेको छ । जसमा १२ वटा घर, १७ वटा गोठ, १२ वटा बाख्रा खोर, ८ वटा बंगुर खोर, ६ वटा कुखुरा खोर, ३ भान्सा घरमा आगलागी भएको प्रहरी चौकी ताहुंले जनाएको छ । सयौ गाई भैसी, वंगुर बाख्रा कुखुरा आगोले जलेको वडा अध्यक्ष धनबहादुर घर्तीले बताएका छन् ।

यस्तै पाल्पाकै रामपुर नगरपालिकाको वडा नंं ४ को तल्लो गिजनडाडा र वडा नंं ५ को गैरा गाउंबाट शुरु भएको आगो बस्तीमा पस्दा रेवती पोखरा, छतिनडाडा, मौलाथर, जल्केनी, दरकोट बस्तीमा पुगी ९ वटा घरगोठ जलेको ईलका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक शालिकराम खनालले बताए ।

आगलागीबाट ५ वटा घर, ३ वटा गोठ र १ वटा कुखुरा फर्म पूर्ण रुपमा जलेको प्रहरी निरिक्षक खनालले बताउनुभयो । पाल्पामा यसवर्ष गत बर्षभन्दा आगलागीका घटनामा बृद्धि भएको छ । चैत्र बैशाखमा मात्र १ सय ५० स्थानमा आगलागी भएको र ३ हजार ५ सय हेक्टर वन जंगलमा डढेलो लागेको छ ।

आगलागीबाट मानवीय क्षती नभएपनि नगद, लत्ता कपडा, तथा खाधान्यहरु जलेर नष्ट हुंदा लाखौ रुपैयांको नोक्सान भएको पूर्वखोला गाउंपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।