विदेशी हस्तक्षेपको विरोधमा एकजुट – केपी ओली

बुटवल, बैशाख २१ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी हस्तक्षेप हुन नदिन सबै एकजुट हुनुपर्ने बताएका छन् ।
त्यसका लागि अध्यक्ष ओलीले राष्ट्र निर्माणका लागि राष्ट्रिय निर्णायक शक्ति आवश्यक पर्छ भने ।

शुक्रबार नेकपा एमाले पश्चिम नवलपरासीको ९ औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै देशलाई निर्णायक तहबाट विकास गर्नु पर्ने उल्लेख गर्दै उनले भने – बाह्य शक्तिबाट सहयोग लिएपनि हस्तक्षेप हुन दिन हुदैन । उनले अहिले नेकपा एमाले सरकारमा रहेपनि देशको निर्णायक तहमा नरहेको बताउंदै मिसन ८४ मा एमाले निर्णायक शक्ति हुने दावी गरे ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले करिब दुई तिहाइ नजिक पुगेको उल्लेख गर्दै केही पुरानै नेतृत्वको विवेकहीनले पार्टी फुटको संघारमा पुगेको बताए ।
देशको सीमा रक्षा,स्वाधीनता र अखण्डताका निम्ति एमाले विगतदेखि नै एक्लो रूपमा उभिएको अध्यक्ष ओलीको दावी छ ।

अध्यक्ष ओलीले सीमा सुरक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेल परेको बताए । उनले शुक्रबार सुस्ता क्षेत्रको निरीक्षण गरेका थिए ।
अध्यक्ष ओलीले पार्टीमा गरेको योगदान र कार्यक्षमताका आधारमा सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव दिंदै तल्लो तहका आम कार्यकर्ताकै कारण पार्टी जोगिएको बताए ।