लुम्बिनीमा बौद्ध गोष्ठी

बुटवल, बैशाख २२ गते । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी लुम्बिनीमा सुरु भएको छ । शनिबारबाट आयोजित दुईदिने गोष्ठीको ताइवानका भिक्षु मास्टर हुइ गाङग्ले विश्वमा बौद्ध शिक्षाको महत्व बढ्दै गएको बताए । उनले बुद्धको शिक्षालाई आत्मसाथ गर्न सके जस्तोसुकै कठिनाइ पार गर्न सकिने बताए ।

थाइल्याण्डका प्रा.डा.भिक्षु सुगन्ध (अनिल शाक्य) ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षाअनिवार्य रहेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यवहारिक रुपमा उपयोग हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षाको प्रसारमा अन्तर्दृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र सांस्कृतिक मूल्य मान्यता आदानप्रदानलाई गर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवद्र्धनमा योगदान पु¥याउनगोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षालाई ब्यवहारिक जीवनमा प्रयोग गर्न आवस्यक रहेको बताएका छन् ।
विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा विभिन्न देशका १४ जना अनुसन्धानकर्ता तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै स्टोनीयाका डा. शोभित शाक्य, बङगलादेशका प्रा.डा. बिजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्दले बौद्ध शिक्षा र सुशासनलाइ कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरे ।
श्रीलंकाका डा सचिनी हन्सिका, सन्सारकै सुखी ब्यक्ती फ्रान्सका म्याथु रिकार्डले सुख, शान्ती र अहिन्साका लागि बुद्धको शिक्षा र उपदेशलाइ जीवनमा कार्यान्वयन गर्नु जरुरी रहेकामा जोड दिए ।
भारतका प्रा.डा. उदय कुमार, म्यानमारका प्रा.डा. सटट सान्दार, ताइवानका प्रा.डा. कृस्टी चाङ,म्यानमारका भिक्षु बुद्धघोष, पोर्चुगलकाडा. सोनिया गोम्स लगायतले बुद्ध शिक्षाले नैतिक रुपमा उत्तरदायी बनाउने भएकाले यसलाई अंगाल्न आवश्यक रहेको बताए ।
गोष्ठीमा साहित्यकार सोनु गुरुङ, मोहन सिंह गुरुङ, भिक्षु क्याल्सन लगायतले कार्यपत्रमाथी टिप्पणी गरेका थिए । गोष्ठी आइतबार समापन हुने छ ।