अग्नी पीडितलाई कपडा वितरण

बुटवल, बैशाख २४ गते । रुपन्देहीको रोहिणी गाउंपालिकाका आगलागी पीडितहरुलाई लत्ताकपडा वितरण गरिएको छ । क्लोथ एण्ड फूड बैंक, नेपालले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा सोमबार ८६ घरधुरीलाई कपडा वितरण गरेको संस्थाका अध्यक्ष कमल जीसीले जानकारी गराए । अध्यक्ष जीसीका अनुसार अग्नी पीडितका घरपरिवारका सदस्यहरुलाई दुइ दुइ जोर कपडा पुग्ने गरी वितरण गरिएको छ । कपडा बैंक मार्फत विभिन्न जिल्लामा गरी ६ सय ६३ घर धुरीलाई लत्ता कपडा बितरण गरिएको हो ।

अघिल्लो हप्ता रोहिणीमै कपडा बैंक स्थापना गरिएको थियो । रोहिणी गाउंपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले आगलागीबाट ९८ वटा घरमा क्षति पुगेको बताउनुभयो । गाउंपालिकाका अध्यक्ष यादवका अनुसार ५२ वटा घरमा पूर्णरुपमा क्षति भएको छ । आगलागी नियन्त्रणपश्चात तत्कालै स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर आगलागी पीडितहरुलाई गाउंपालिकाले खाद्यान्न तथा नगद सहयोग गरिएको अध्यक्ष यादवले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीबाट रुपन्देहीका ७ वटा पालिकामा १ सय ५५ देखि १ सय ७५ वटा घर पूर्णरुपमा र २ सय ५० वटा घरमा आंशिक क्षति भएको बताए । अग्नी पीडितलाई घटनास्थलमा पुगेर क्षतिको मूल्यांकन गरी क्षतिको आधारमा क र ख वर्गमा विभाजन गरी सम्बन्धित पालिकाको सिफारिसमा १५ देखि २० हजार नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले अग्नी पीडितहरुलाई निरास नहुन आग्रह गर्दै नगदसंगै आवश्यक खाद्यान्न पनि वितरण गरिने आश्वासन दिए । रोहिणी प्रहरी चौकी पिप्रहवामा अग्नी पीडितहरुलाई जम्मा गरेर राहत वितरण गरिएको थियो ।