आमाको मुख हेर्ने दिनमा आमाप्रति श्रद्धा प्रकट

बुटवल, बैशाख २६ गते । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर आमाको मुख हेर्ने दिन मनाईएको छ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरू भने आमाको सम्झना गर्दै आमाको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने धार्मिक शास्त्रीय विधानले बताएको छ ।

आमा नहुनेहरुले मानव सेवा तथा विभिन्न आश्रममा गएर त्यहां आश्रितहरुलाई खाना खुवाएर मातातिर्था औंसी तथा आमाको मुख हेर्ने दिन श्रदापूर्वक मनाएका छन् ।
रुपन्देहीको बुटवलमा रहेको मानव सेवा आश्रममा आमा गुमाएकाहरुले उक्त मानव सेवा आश्रममा रहेका वृद्ववृद्वा र असहायहरुलाई भोजन तथा खाना खुवाएका छन् ।

आफ्ना आमाहरुको स्मृतिमा मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन बुधबार सैनामैनाका लोकराज भुसाल कमला बञ्जाडे लगायत दर्जन बढी आमा गुमाएकाहरुले आश्रमलाई सहयोग गर्नुका साथै वृद्ववृद्वालाई खाना खुवाएका छन् । आमा तथा माताविहीन सन्तानहरुले आज रातभर भजनकीर्तन गरेर आमाको स्मरण गर्ने गर्दछन् ।