अक्षय तृतिया, सातु, सर्वत बाड्ने र खाने दिन

बुटवल, बैशाख २८ गते । आज अक्षय तृतिया अर्थात जांै को सातु र सर्वत खुवाउने र खाने दिन । आज दान गर्ने र अक्षय पूण्यलाभ गर्ने दिनका रुपमा पनि लिने गरिन्छ ।
अन्य दिनमा गरेका दानभन्दा अक्षय तृतीयामा गरेको दानभन्दा हजार गुणा बढी पाइने शास्त्रोक्ति रहेकाले गाई, कन्या, ब्राम्हण, योगी, अनाथ, अपांग, बिरामी, असहाय, गरीब तथा सार्वजनिक महत्वका क्षेत्रलाई दान गरौं, अक्षय पूण्य लाभ गरौं भन्ने मान्यता वैदिक कालदेखि चल्दै आएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएको मानिन्छ ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौं अवतारका रुपमा परशुरामको जन्म जमदिन र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।
आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुने धार्मिक विश्वास छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।
यसै अवसरमा आज बिभिन्न स्थानमा जौ को सातु र सर्वत बाडिएको थियो ।

बुटवलको विभिन्न ठाउंमा बिहानैदेखि जांै को सातु र सर्वत खुवाउने र खाने गरिएको थियो । बुटवलमा नेवाः समाज, सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिर, भजन मण्डली विभिन्न संघसंस्थाले सडकमा पाल टागेर बिहानैदेखि सातु सर्वत बांडेका छन् ।