सनकको भरमा गृहमन्त्रीमाथि छानबिन हुन्न–  ओली

काठमाडौं, बैशाख २८ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै दोषी नभएका उपप्रधान तथा गृहमन्त्रीमाथि सनकको भरमा छानबिन हुन नसक्ने बताएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले छुद्र खेल खेलेको ओलीले बताए । उनले समीकरण भत्काउन प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि कांग्रेस छुद्र खेलमा लागेको ओलीको दावी छ ।

अध्यक्ष ओलीले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिंदै भने – हामीले बोल्दा अध्ययन गरेर प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्छ । लामा होइन, संक्षिप्त गर्नुपर्छ । सामाजिक सद्भाव र राष्ट्रिय एकता हाम्रो आदर्श हो । राष्ट्रिय एकताविरुद्धको कुनै गतिविधि स्वीकार्य छैन । नेपालको हितविपरीतको कुरालाई मान्दैनौं । हाम्रो आदर्श त्यो हो उनले भने ।