चौराहा अस्पतालले उपचारमा लापरवाही गरेको आरोप

बुटवल, बैशाख २८ गते । बुटवलको चौराहा अस्पताललाई उपचारमा लापरवाही गरेको आरोप लागेको छ । उपचार गर्दा अस्पतालले लापरवाही गरेको आरोप लगाउंदै शुक्रबार विरामीका आफन्तहरुले शुक्रबार घेराउ गरेका छन् । रुपन्देही तिलोत्तमा–२ का किरण थापाको उपचारमा चौराहा अस्पतालमा कार्यरत चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले उचित क्षतिपूर्तिको माग गर्दै चौराह अस्पताल घेराउ गरेका हुन् ।

गत मंसिर २७ गते साँझ स्कुटर दुर्घटनमा परी चौराह अस्पतालमा उपचार गराउन पुगेका किरण थापाको खुट्टा फ्याक्चर भएको देखिएपछि चिकित्सकले अप्रेशन गरेका थिए ।किरणका आफन्तका लअनुसार गत मंसिर २८ गते अप्रेशनपछि ५ दिनसम्म अस्पतालमै राखेर किरणको उपचार गरिएको थियो ।
उपचारपछि घर फर्किएको करिब २ साता फलोअपका लागि किरण अस्पताल जाने गरेका थिए । अन्तिममा चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गरेका थिए । उक्त समयसम्म खुट्टाका सबै मासु कुहिएर फाल्नु पर्ने अवस्था भएको र अहिले काठमाडौंकै एक अस्पतालमा उपचारपछि नियमित फलोअपमा रहँदा लाखौ रकम खर्च भएको किरणका दाई दिवाकर थापाले बताए ।

उपचारमा लापरवाही हुंदा किरणको अवस्था अहिले नाजुक भएको पीडित पक्षको गुनासो छ । बिरामीका दाइ दिवाकर थापाका अनुसार अस्पतालले सुरुमा क्षतिपूर्ति बापत उपचार खर्च दिने मौखिक सहमती गरेपनि अहिले सहमती अनुसार क्षतिपूर्ति दिन नमानेपछि आफूहरुले अस्पताल घेराउ गर्नुपरेको बताए । सुरुमा के कति खर्च हुन्छ त्यसबापतको रकम दिने विषयमा हेर्छौ भनेर अस्पतालले आश्वासन दिएपनि अहिले अस्पतालले क्षतिपूर्ति नदिएपछि अस्पताल घेराउ गरिएको विरामकिा आफन्तहरुले बताएका छन् ।
अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले क्षतिपूर्ति दिने विषयमा कुनै पनि सम्झौता नभएको बताए । उपचारका क्रममा कुनै कमजोरी भएमा कानूनी उपचार खोज्ने बाटो खुला रहेको र त्यसका लागि अस्पताल तयार रहेको जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले बताए ।

अस्पतालका हाड जोर्नी तथा नशारोग विभाग प्रमुख प्रकाश रानाभाटले पीडित भनिएका बिरामीलाई मानवीय हिसावले केही सहयोग गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिंदै गल्ती नै नगरी क्षतिपूर्ति दिन नसकिने बताए । विरामीको आर्थिक अवस्था कमजोर भए मानवीयताको हिसाबले सहयोग गर्न सकिएला तर हामीलाई गल्तीनै गरेको भन्ने आरोप लगाएमा कानूनी उपचार र अनुसन्धानका लागि आफुहरु तयार रहेको प्रकाश राना भाटले प्रतित्रिक्रया सिदनुभयो । अस्पताल घेराउ गर्न गएका विरामीका आफन्तहरुसंग अस्पतालले भोली शनिबार छलफलका लागि बोलाएको छ ।

सम्भावित घटनालाई मध्यनजर गरी ईलका प्रहरी कार्यालय बुटवलको टोली सुरक्षाका लागि अस्पतालमा खटिएको थियो । अस्पतालमा बारम्बार क्षतिपूर्तिको मागसहित आउन थालेपछि ईलाका प्रहरी कार्यालय बुटवललाई सुरक्षाका लागि १ महिनाअघि निवेदन दिएको अस्पतालका प्रशासन प्रमुख सन्तोष गुप्ताले जानकारी गराए ।
क्षतीपूर्ति नपाउंदासम्म अस्पतालका बिरुद्व आन्दोलन गरिने विरामीका आफन्तहरुले चेतावनी दिएका छन् ।