सहकारी घोटला गर्ने पोखरा प्राइम सहकारीका आठ जना पक्राउ

पोखरा, बैशाख १ गते । पोखरा महानगरपालिका ४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । निक्षेपकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष पोखरा महानगरपालिका ४ गैह्रापाटनका ६६ वर्षीय निदेश प्रसाद कोइराला, अध्यक्ष पोखरा महानगरपालिका १४ चाउथेका ४३ वर्षीय शंकर कार्की, सहकारी व्यवस्थापक पोखरा ११ रानीपौवाकी ३६ वर्षीया निरु थापा केसी र कर्मचारी प्रमुख पोखरा २७ अर्चलेका ३७ वर्षीय सुरेन्द्र मणी पौडेल रहेका छन्।

यस्तै, कानुनी सल्लाहकार पोखरा १३ आर्वा स्थायी ठेगाना भई हाल १२ ढिकालेथरका ५३ का ईन्द्र प्रसाद बराल, कोषाध्यक्ष पोखरा ३० शिशुवाका ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत शिशुवा कै ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा ८ नयाँबजारका ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वशन्तकुमार शर्माका अनुसार सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीको आधारमा कुल बिगो १ अर्ब ५४ करोड १५ लाख ८ हजार १४२ रुपैयाँ ८५ पैसा अपचलन तथा हिनामिना गरेको आरोप छ ।

सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले २०८१ जेठ १ गते प्रहरीलाई पत्र पठाएको छ। पत्र प्राप्त भएलगतै उनीहरुलाई प्रहरीले कास्कीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पीडितलाई सम्पर्कमा आउन आग्रह

यसैबीच प्रहरीले सो सहकारीका पीडितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । बचतकर्ताको उजुरीपछि सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्की गुहारेको थियो । सहकारी रजिष्ट्रारको कार्यालयले सो सहकारीका संचालक समितिका पदाधिकारीले बचतकर्ताको रकम ठगी गरेको पुष्टि भइसकेको भन्दै प्रहरीलाई अनुसन्धानमा सघाउन मंगलबार नै पत्राचार गरेको हो ।

सहकारी रजिष्ट्रारको कार्यालयको पत्रपछि कास्की प्रहरीले बचतकर्तालाई प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पीडितहरुलाई यही जेठ २० गतेभित्र उजुरी दिन भनेको छ ।