समाजमा भ्रष्टाचार बाधक

बुटवल, बैशाख २ गते । आर्थिक गतिशिलता र दीगो विकासका लागि भ्रष्टाचार बाधक रहेकाले हरेक क्षेत्रलाई भ्रष्टाचार मुक्त गर्नुपर्ने सरोकारवालाले बताएका छन् । समाजमा सुशासन कायम गर्न कानुनी शासन, मानव अधिकार, पारदर्शीता र जवाफदेहीता हुनुपर्ने उनीहरुले बताए ।

समाजका हरेक क्षेत्र भ्रष्टाचारबाट प्रभावित भएकाले भ्रष्टाचार मुक्त समाज निर्माणका लागि हरेक नागरिकमा चेतना हुनुपर्ने बताए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजना र बुटवल उपमहानगरपालिकाको समन्वयमा बुधबार आयोजित कार्यक्रममा बोल्ने सहभागिले भ्रष्टाचार मौलाएकोप्रति चिन्ता गरेका छन् ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्वन विषयक कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुशासन कायम गर्नका लागि बुटवल उपमहानगरपालिका प्रतिवद्व रहेको बताए ।

उनले नागरिकलाई सेवा दिने विषयमा आफु चनाखो भएर काम गरेको बताउंदै भ्रष्टाचार तथा अनियमिता हुन नदिने र सुशासन कायम गर्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए । विकासमा अवरोध गर्ने नियतले पनि उजुरी पर्ने गरेको बताउंदै त्यस्तो गलत कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

उपप्रमुख सावित्रादेवी अर्यालले पछिल्लो समय दुख दिने नियतले पनि अख्तियारमा उजुरी पर्ने गरेको बताउंदै गलत कामलाई कसैले पनि प्रोत्सान नगरी न्युनीकरण गर्नु पर्ने बताइन । भ्रष्टाचारको कसुरमा पक्राउ परेर अदालतबाट सफाई पाएका उदाहण पनि रहेको उल्लेख गर्दै भ्रष्टाचारीलाई कारवाही गर्नुपर्नेमा उपमेयरको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले समाजमा सुशासन कायम गर्न घरघर बाटै अभियान चलाउनुपर्ने बताउंदै गलत काम नगरे भए उजुरी पर्दैमा नडराउनु आग्रह गरेका छन् । भ्रष्टाचारविद्वरुद्व सुशासन तथा सभ्य समाज निर्माण गर्न हरेक नागरिकको सहयोग चाहिने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बुटवलबाट भए गरेका काम कारबाहीबारे जानकारी गराउंदै अनियमितता हुन नदिएको दावी गरेका छन् ।

उक्त कार्यक्रममा बुटवल उद्योगा वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, शिक्षक पुरूषोत्तम भट्टराईलगायतले बोल्दै पछिल्लो समय अदालत, अख्तियार लगायतका संबैधानिक निकायप्रति जनताको विश्वास गुम्दै गएकाले जवनप्रतिनिधि र कर्मचारीले जनताको विश्वास जोगाउने खालका काम गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नप्रतिनिधि, कर्मचारी, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।