सन्दीपलाई विश्वकपमा सहभागी गराउने क्यानको तयारी

काठमाडौं, बैशाख ३ गते । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने तयारी गरेको छ ।
जबरजस्ती करणी मुद्दामा बुधबार उच्च अदालत पाटनले सफाइ दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज पठाउनेबारे क्यानले चाँडै निर्णय लिने बताएका छन् ।
हाल दिल्लीमा रहेका चन्दले क्यानका सदस्यहरूबीच अनलाइनमार्फत् त्यसबारे छलफल चलिरहेको पनि जानकारी दिए।
उनले अदालतले सफाइ दिइसकेपछि ‘नेपाललाई टी२० विश्वकपमा पु¥याउन प्रमुख भूमिका खेलेका’ लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश हुनबाट रोक्न नमिल्ने उल्लेख गरे।
‘सम्मानित उच्च अदालत पाटनको २०८१ जेठ २ को फैसला बमोजिम नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनि फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेटबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौं’, अध्यक्ष चन्द आफैंले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।
अहिले १५ सदस्यीय नेपाली टोली वेस्ट इन्डिजमा छ।

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ।

१० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलो पटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।
१४ कात्तिक, २०७९मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी असोज २० गते विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।
त्यसपछि २३ भदौ, २०७९ नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।
यसअघि बुधवार दिउँसो उच्च अदालत पाटनले लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको थियो।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतले दिएको फैसलालाई उल्ट्याएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताए।