मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन्
परासी, जेठ ३ गते । नवलपरासीको सुनवल नगरपालिका भूमही खोलाबाट मापदण्ड विपरीत नदीजन्य पदार्थको जथाभावी उत्खनन् र बिक्री गर्ने गरेको पाइएको छ । आयोजनाका नाउँमा निकालिएका नदीजन्य पदार्थ अन्यन्त्र बिक्री हुनुका साथै मापदण्डविपरीत उत्खनन् र संकलन गरेको थाहापाएपछि जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ निकाल्नमा रोकसमेत लगाएको छ ।
नगरपालिकाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका लागि भूमही खोलाको नदीजन्य पदार्थ निकाल्न आशिष–क्षेमादेवी बुद्ध हिमाली जेवीलाई अमानतमा ठेक्का दिएको हो । अनुगमनका व्रmममा उत्खनन् र संकलनका लागि स्वीकृत विधि प्रकृया र परिमाण सम्बन्धीको व्यवस्थाको पालना नगरेकाले नगरपालिकालाई पत्र पठाएर दुई दिनका लागि उत्खनन् र ढुवानीमा रोक लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जानकारी दिए ।
नदीजन्य पदार्थ निकाल्दा कम्पनीले वन क्षेत्रको स्थान र ठूला खाल्डा खनेर खोलालाई नै असर गर्ने गरी निकालेको पाइएको हो । कम्पनीले मापदण्डविपरीत वन क्षेत्रको केही स्थानमा पनि उत्खनन् गरेको पाइएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत रविन्द्रनाथ चौधरीले बताए । मापदण्डविपरीत उत्खनन्, संकलन तथा बिव्रmी गर्ने गरेको भन्दै नदीजन्य पदार्थको ढुवानीमा अनुगमन समितिले रोक लगाएपछि त्यसको परिमाण नाप जाँच गरिएको नगरपालिकाकी प्रमुख विमला अर्यालले बताइन् । नापजाँच गर्दा अझ केही घनमिटर कम्पनीले लैजान बाँकी रहेको देखिएको उनको भनाई छ ।
कम्पनीले विमानस्थलमा एकै पटक नदीजन्य पदार्थ लैजान समस्या हुनेभन्दै चार स्थानमा (घाटगद्दी गरेको छ । घाटगद्दी स्थलबाट समेत नदीजन्य पदार्थ अन्यन्त्र बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ । विमानस्थलका लागि नगरपालिकाले कुल २ करोड ४९ लाख ६४ हजारमा ३५ हजार घनमिटर नदीजन्य पदार्थ अमानतमा बिक्री गरेको हो ।
नगरपालिकाले भूमहीबाहेक तुरिया र विचासय खोलाको नदीजन्य पदार्थ नारायणगढ–बुटवल सडक खण्ड विस्तार गरिरहेको चिनियाँ कम्पनी (चाईना स्टेट कन्स्ट्रक्सन)लाईसमेत अमानतमा दिएको छ ।