राष्ट्रिय स्वाधिनताको प्रतिक हो जीतगढी

बुटवल, जेठ १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ऐतिहांसिक किल्ला जीतगढीलाई ओझेलमा पर्न दिन नहुने बताएका छन् । पूर्खाहरुले अंगे्रज फौजलाई परास्त गरेर सार्वभौम जोगाएको जीतगढी किल्लाको संरक्षण गरी प्रचार– प्रसार गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपालले बिहीबार बुटवलमा आयोजना गरेको राष्ट्रिय स्वाधिनता, ऐतिहांसिक जीतगढी विषयक गोष्ठीमा बोल्दै मुख्यमन्त्री महराले राष्ट्रिय स्वाधिनताको विषयलाई कमजोर बनाउन नहुने बताए । उनले जीतगढी किल्लाको तीनै तहका सरकारले संरक्षण गरी अगाडि बढाउनु पर्ने बताउंदै प्रदेशबाट सहयोग पुराउने प्रतिवद्वता जनाउंदै भने – जीतगढी किल्लाको इतिहांसलाई सबै नागरिकले शिक्षाको रुपमा लिनुपर्छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राष्ट्रिय झण्डा फराउने तीजगढी किल्लाको क्षेत्रमा भारतीय सैनिक क्याम्प राखेर शैन्य झण्डा फराउन नहुने बताए ।भारतीय सैैनिक क्याम्पका लागि फुलबारीमा सिफारिस गर्दा केही कमजोरी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीकार गर्नुभएको सभामुख घर्तीले बताए । राष्ट्रिय स्वाधिनताको विषयमा राजनीति गर्न नहुने बताउंदै स्वाधिनताको विषयलाई उच्च मनोवलका साथ अगाडि बढाउनु पर्ने उनले बताए ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जीतगढीको उचित संरक्षण गरी विकासका लागि बुटवल उपमहानगरपालिकाले काम गरिरहेको दावी गरे । कर्णेल उजिरसिंहलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने मेयर पाण्डेयको भनाइ छ ।

नेपाली सेनाका सहायक रथी ललित कुंवरले नेपाली भूमि जोगाउन प्रयोग गरिएको जीतगढी विजयको प्रतिक भएको बताउंदै नेपालीका लागि जीतगढी राष्ट्रिय स्वाभिमान हो भने ।
प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्कीले दलका नेताहरुमा राष्ट्रिय स्वाभिमान हराएको र सत्तामोह बढेकाले राष्ट्रियता कमजोर भएको बताए । नेपाली समाज विभाजित भएको बताउंदै अबको २५ वर्षपछि देशमा राष्ट्रियताको मुद्वा उठाउने मान्छे नहुने अवस्थाको सिर्जना भएको बताउंदै यसको दोषी राजनीतिक नेतृत्व भएको उनको दावी छ ।

कार्यपत्र प्रस्तुत गर्दै वामपन्थी नेता युवराज पन्थीले तीतगढीबाट राष्ट्रिय स्वाभिमान जोगाएर कर्णेल उजिरसिंह थापाले ठूलो गुन लगाएको बताउंदै उनले भने – राजनीतिक नेतृत्व कमजोर हुंदा देशमा समस्या उत्पन्न भएको हो ।

कार्यक्रममा लेखक तथा साहित्यकार दिल साहानी, नेकपाका बसन्त श्रेष्ठ, नेकपा एमाओवादीका निर्मल जीसी, एमालेका मेघराज भट्टराई, पर्यटन व्यवसायी माधव खनाल लगायतले बोल्दै जीत गढीको प्रचार– प्रसार गरेर बुटवललाई पर्यटकीय विश्रामस्थल र आर्थिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रमको अवसरमा पे्रस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्की, अर्का प्रेस स्वतन्त्रता सेनानी तथा साहित्यकार दिल साहानी, नेपाली सेनाका उपरथी ललित कुंवर, इलाका प्रहरी कार्यालय बुटवल लगायतका व्यक्ति र संस्थालाइ सम्मान गरिएको थियो ।

राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपाल २०५९ का अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षता र समुन्द्र जीसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।