तिलोत्तमालाई लैंगिकमैत्री नगर बनाउने तयारी

बुटवल, जेठ १३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंगिकमैत्री नगर बनाउने तयारी गरेको छ । नगरलाई लैंगिकमैत्री नगर बनाउने उद्वेश्यले विभिन्न ११ वटा विषय छनोट गरी नगरपालिकाले १ सय ४६ वटा सूचकको मस्यौदा तयार गरेको छ ।

नगरपालिकाले अगाडि सारेका विभिन्न सूचकमाथि आइतबार नगरपालिका प्रमुख, उपप्रमुख सरोकारवाला र सञ्चारकर्मीबीच छलफल गरिएको छ । लैंगिकमैत्री नगर बनाउन नगरपालिकाले तयार पारेको लैंिगकमैत्री मस्यौदालाई पूर्णता दिनका लागि सुझाव संकलन गर्न छलफल आयोजना गरिएको नगरपालिकाले बताएको छ । सरोकारवाला निकाय र सञ्चारकर्मीहरुले दिएको सुझाबलाई समावेश गरी मस्यौदालाई पूर्णता दिने तिलोत्तमा नगरपालिकाको तयारी छ ।

उक्त छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खांणले नीतिगत रुपमा लैंगिकमैत्री नगर बनाउन लैंगिकमैत्री सूचकको मस्यौदा तयार गरिएको बताए । हरेक क्षेत्रबाट नगरपालिकालाई व्यवस्थित र विकसित नगर बनाउन लैंगिकमैत्री नगर बनाउनुको विकल्प नभएको नगर प्रमुख खांणको भनाइ छ ।

नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले तिलोत्तमालाई सुरक्षित नगर बनाउने उद्वेश्यले लैंिकमैत्री सूचकको मस्यौदा ल्याईएको र यसलाई सबैको सुझावको आधारमा पूर्णता दिने बताइन ।

नगरपालिकाले लैंगिक संवेदनशील नीति, कानून, रणनीति, कार्यविधि, लैंिगकमैत्री परिवार र समूदाय, लैंगिकमैत्री संसथागत संरचना, सार्वजनिक तथा नीजि भौतिक संरचना, लैंगिकमैत्री भूमि उपयोग, लैंगिकमैत्री सार्वजनिक यातायात, लैंगिकमैत्री सुरक्षा प्रणाली, लैंगिकमैत्री मिडया तथा सञ्चार, लैंगिकमैत्री पर्यटन, खेलकुंद र लैंगिक हिंसा शून्य सहिष्णुता लगायतका ११ वटा विषयगत क्षेत्रहरु र मापनका आधारमा १४६ वटा सूचक निर्माण गरिएको छ ।

सबैको सुझावहरुलाई समावेश गरी लैंिगकमैत्री मस्यौदालाई पूर्णता दिइने सहजकर्ता प्रतिमा शर्माले जानकारी गराइन । नगर उपप्रमुख जागेश्वरी चौधरीको अध्यक्षता र सम्झना भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।