बुटवलका पांच जना पत्रकार पुरस्कृत

बुटवल, जेठ १५ गते । नेपाल पत्रकार महासंघ रुपन्देही, बुटवल उपमहानगरपालिका र बुटवल पव्लिक स्कुलद्वारा स्थापित पत्रकारिता पुरस्कारबाट बुटवलका पांच जना पत्रकार पुरस्कृत भएका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न पुरस्कृतसहित सम्मान गरिएको हो । उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार लक्ष्मण पौडेल एक लाख रुपैंयां राशीको पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा बुटवल उपमहानगरपालिकाले स्थापना गरेको सूर्यप्रसाद प्रधान स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार भगवती पाण्डेय र पत्रकार तेजेन्द्र केसी पुरस्कृत भएका छन् ।पत्रकार पाण्डेर केसीलाई जनही ५० हजार राशीको उक्त पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार कृष्ण खनाल र उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार अम्बिका दर्जी रु १० हजार राशीको पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी संयोजक रहेको मूल्यांकन समितिले पत्रकार लक्ष्मण पौडेललाई पुरस्कृत गर्न सिफारिश गरेको हो । महासंघका सल्लाहकार खिमानन्द भट्टराई संयोजक रहेको मूल्यांकन समितिले सूर्यप्रसाद प्रधान स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार भगवती पाण्डेय र पत्रकार तेजेन्द्र केसीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । त्यस्तै पत्रकार श्यामलाल पोखरेल संयोजक रहेको मुल्याकंन समितिले पत्रकार कृष्ण खनाल र पत्रकार अम्वीका दर्जीलाई पुरस्कृतका लागि सिफारिस गरेको हो ।

पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकार र मिडिया सञ्चालनका लागि उपमहानगरपालिकाले लगानी बढाएको भन्दै पत्रकारिताको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न तयार रहेको बताए ।बुटवललाई मिडिया सिटी बनाउन र पत्रकारहरुलाई स्थापित गर्न कार्यक्रम ल्याउने प्रतिवद्वता जनाएका छन् बुटवलका मेयर खेलराज पाण्डेयले ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उपमहानगरपालिकाले रुपन्देहीमै ठूलो धनराशीको पुरस्कार स्थापना गरी महासंघसँग सहकार्य गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यमा थप सहकार्य गर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट पुरस्कारु मूल्यांकन समितिका संयोजक शेरबहादुर केसी, सूर्यप्रसाद प्रधान स्मृती पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक खिमानन्द भट्टराई, पत्रकार एवं बाह्रखरीका प्रधानसम्पादक प्रतिक प्रधान, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाललगायतले आआफ्ना भनाइ राखेका थिए ।

महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो । यस्तै पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालित ३ दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।