सांसदको घरमा बालिकामाथि घरेलु हिंसाको खुलसा

काठमाडौं, जेठ १६ गते । काठमाडौंको बालुवाटार क्षेत्रमा एक सांसदको घरबाट १४ वर्षीया बालिकाको उद्धार गरिएको छ । घरेलु काममा राखिएकी ती बालिकालाई पाइप र लौरीले कुटपिट गरेको अवस्थामा उद्धार गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै बालेनले लठ्ठी र पाइपले कुटपिट भएको अवस्थामा सांसदको घरबाट बालिकाको उद्धार भएको जानकारी दिएका हुन् । यद्यपी उनले ती सांसद को हुन् भन्ने खुलाएका छैनन् । यस्तै, केही दिनअगाडि एक होटलबाट बुवाले लिएको ऋण तिर्न भनि जोखिमपूर्ण श्रममा लगाइएका २ जना १० देखि १४ वर्ष उमेरका बालकहरूको उद्धार गरिएको मेयर शाहले बताएका छन्।

उनले २०८१ वैशाखदेखि हालसम्म ३१ जना बालबालिकाको उद्धार भएको जानकारी दिएका छन्। काठमाडौँ महानगरपालिकाकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरबाट निकृष्टरूपमा बालश्रम शोषण गराइरहेको अवस्थाबाट बालबालिका उद्धार गरिएको शाहको भनाई छ।

शाहले महानगरले कार्यक्षेत्रभित्र रहेको जिम्मेवारी पुरा गर्ने स्पष्ट पार्दै संघीय सरकारले बालश्रममा परेर दुव्र्यवहारमा परेका बालबालिकाहरूको बयानमा आधारित भएर कारबाही प्रक्रिया बढाओस् भन्ने आग्रह समेत गरेका छन् ।