वनको दिगो विकासप्रति सरोकारवालाको चासो

बुटवल, जेठ १६ गते । रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले सरोकारवाला निकायसंग वन सम्बन्धी अन्तरक्रिया तथा गोष्ठी गरेको छ । नगरपालिका, राजनीतिक दल, सामुदायिक विद्यालय, जनप्रतिनिधिलगायत वनसंग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसंग अन्तरक्रिया तथा गोष्ठी गरिएको हो ।

गत वर्षदेखि वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य सुरु गरेको शंकरनगर सामुदायिक वनले वार्षिक कार्ययोजना अनुसार कार्यक्रम आयोजना गरिएको समूहका कोषध्यक्ष भुवन आचार्यले जानकारी गराएका छन् ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले मानिसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको वनलाई सबै मिलेर जोगाउनु पर्ने बताए । वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यले वन व्यवस्थापन गर्न बाटो खुला भएको र सबैको प्रयासले मात्र वनको दिगो विकास तथा ब्यवस्थापन हुने बताए । नगर प्रमुख खांणले घर आगनलाई पनि हरियाली बनाउन वन जोगाउनुको विकल्प नभएको बताए ।

डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले अहिलेको पुस्तालाई वनसंग जोड्नु पर्ने बताउंदै भावी पुस्तालाई पनि आपूर्तिमा असर नपर्ने गरी वनको व्यवस्थापन गर्ने गरी वन संरक्षण गर्नपर्ने बताए ।

डिभिजन प्रमुख सापकोटाले वैज्ञानिक वन प्रणालीले जैविक विविधता, वनको हैसियतमा सुधार,सौन्दर्यकरण, रोजगारीको सिर्जना, आर्थिक वृद्धि, राजस्वमा वृद्धिलगायत सबै क्षेत्रमा फाइदा पुग्ने बताए । दिगो वनका लागि विरुवा उत्पादन जरुरी रहेको बताउंदै डिभिजन प्रमुख सापकोटाले वन विज्ञानको सिद्धान्त अनुसार रुख उमार्ने, हुर्काउने र बुढा रुख सदुपयोग गर्न सुझाव दिए ।

तिलोत्तमा सव डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सूर्यप्रसाद मैनालीले हालसम्म वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनमा देखिएका जोखिम र चुनौती न्यूनीकरणबारे जानकारी गराएका थिए ।

शंकरनगर सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतले वन सम्वद्र्धन प्रणालीका विषयमा सरोकारवाला जानकार हुनु पर्ने बताउंदै दीगो वन व्यवस्थापनका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले शंकरनगर सामुदायिक वनले वन सम्वद्र्धन प्रणाली अन्तर्गत हालसम्म गरेका क्रियाकलापबारे जानकारी गराउनु भएको थियो । शंकरनगर सामूस्दायिक वन उपभोक्ता समूहले वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य सुरु गरेको छ ।

वैज्ञानिक बन व्यवस्थापनको साटो सरकारले संघीय वन ऐनमा संशोधन गरी वन सम्वद्र्धन समावेश गरी वन ऐन २०७९ मा त्यसको व्यवस्था गरेको छ । त्यस्तै संघीय वन ऐनमा गरिएको संशोधनलाई मनन् गर्दै लुम्बिनी प्रदेशले वन ऐन र नियमावली ल्याएर वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ ल्याएको छ ।