पत्रकार महासंघको निर्वाचन अनिश्चित, नेतृत्वप्रति चौतर्फी आलोचना

बुटवल, जेठ २६ गते । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको निर्वाचन अनिश्चित भएको छ । आज शनिबारका लागि २७ औं महाधिवेशनको निर्वाचन गर्ने मिती तोकिएको थियो । तर अन्तिम समयमा नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको हो ।

अन्तिम समयमा निर्वाचनमा मतदान नहुने अध्यक्ष विपुल पोखरेलले विज्ञप्तिमार्फत जानकारी जानकारी गराएका हुन् । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउंदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसंगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
निर्वाचन समिति गठन गर्न बांकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन अध्यक्ष पोखरेलले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
मतदाता नामावलीका विषयमा विवाद भएपछि पत्रकारसंग सम्बन्धित विभिन्न पत्रकार संघ संस्थाहरुले केन्द्रबाहेक केही जिल्लाका महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् ।
देशका अधिकांस जिल्लामा सदस्य विवाद कायमै रहेकाले अध्यक्ष पोखरेलले भने झै असार दोस्रो साता पनि निर्वाचन हुने निश्चित छैन । सदस्यता सुद्विकरणको नाममा आफ्ना संगठन निकटकालाई सदस्यता दिने र अन्य संघसंगठनमा आवद् पत्रकारहरुलाई सदस्यताबाट हटाईएको भन्दै पत्रकारसंग सम्बन्धित संघसंगठनहरुले नेपाल पत्रकार महासंघको आलोचना गरेका छन् ।

नेपाल पत्रकार महासंघको बिधान अनुसार निर्वाचन हुनुभन्दा ६ महिना अगाडी नै सदस्यहरुको टुंगो लगाउनु पर्ने व्यवस्था भएपनि निर्वाचनको दिनसम्म पनि सदस्यताको टुंगो लागेको छैन । अधिकांस जिल्ला र प्रदेशमा सदस्यता विवाद कायमै रहेको र दर्जन भन्दा बढी जिल्लाका महासंघमा तालावन्दी भएकाले नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित जस्तै छ ।

नेपाल पत्रकार महासंघ बिधान अनुसार नचलेको र पत्रकार महासंघ नविकरणसमेत नगरिएको भन्दै पत्रकार महासंघको नेतृत्वप्रति चौतर्फी आलोचना भएको छ ।