कर्णालीको झोलुंगे पुलको लट्ठा चुँडिदा खच्चड अड्किए

बुटवल, जेठ १७ गते । कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । अछाम र दैलेख जिल्ला जोड्ने पुलको एकातर्फको लट्ठा चुँडिदा आज बिहानैदेखि ती खच्चड तारमा अड्किएका हुन् ।

पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको स्थानीयले बताएका छन् । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी गराएका छन् । पुलमा भारी बोकेका खच्चड पुलको तारमा झुण्डिएको तस्वीर अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएका छन् ।