सरकारको राजश्व नीति अव्यवहारिक – उधोगी

बुटवल, जेठ २८ गते । सरकारको राजश्व सम्बन्धि अस्थिर नीतिले मारमा पारेको उधोगी व्यवसायीले बताएका छन् ।सरकारले राजश्वलाई मात्रै ध्यान दिंदा उधोगी व्यवसायी मारमा परेको उनीहरुको भनाई छ ।

बजेट तथा आर्थिक विधेयकका  कारण उधोग व्यवसायमा पार्ने प्रभावबारे बुटवल उधोग वाणिज्य संघ रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने उद्योगी व्यवसायीले सरकारको अस्थिर नीतिले उद्योगी व्यवसायी पलायनको अवस्थामा पुगेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संसदबाट पास भएर आएको ऐन कार्यान्वयन गर्नुको विकल्प नभएको बताए । झण्झटीला विषयमा सहजिकरण गर्ने र छिटो छरितो कार्यसम्पादन भएमा उद्योगी व्यवसायीलाई राहत मिल्न सक्ने उनको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले ल्याएको बजेट राजश्व केन्द्रीत रहेको र अव्यवहारिक कर नीतिले उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले ल्याएको बजटे र राजश्व नीति अव्यवहारिक र अवैज्ञानिक रहेको दावी गर्दै नीजि क्षेत्रलाई निरुत्साहित बनाएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा उद्योग समितिका सभापति राजेश अग्रवालले सरकारले ल्याएको बजेटले तस्करहरुलाई प्रोत्साहन गरेको आरोप लगाए । अहिले यो देशबाट विद्यार्थी पलायन भएजस्तै उद्योगी व्यवसायी पनि पलायन हुने अवस्था आउने बताउंदै भने – सरकार जनता र नीजि क्षेत्रप्रति उदासिन छ ।
उद्योग व्यापार संघ देहीका अध्यक्ष विष्णु पाण्डेले ऐनमा वर्षैपिच्छे हुने परिवर्तनले उद्योगी व्यवसायी मारमा परेको बताए ।

प्यानल छलफलमा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी, आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पोखरेल र भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख नारद गौतम रहेका थिए ।

भन्सार तथा राजश्वमा भएको समस्या, नीतिगत व्यवस्था, उद्योगी व्यवसायीका समस्या र समाधानबारे छलफल भएको प्रतिप भट्टराईले जानकारी गराए ।
संघका महासचिव मुक्ति अधिकारीको सञ्चालनमा कार्यक्रम भएको हो ।