बुटवलमा भजन प्रतियोगिता, बुटवल ५ प्रथम

बुटवल, जेठ २८ गते । बुटवलमा लोक भजन प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीको आयोजना,प्रतिष्ठान रुपन्देहीको सहआयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा लोक भजन प्रतियोगिता आयोजना गरिएको हो ।

शनिबार आयोजित नगरस्तरीय अन्तर वडा प्रथम लोक भजन प्रतियोगितामा १४ वटा टिमवीच प्रतिष्पर्दा भएको थियो । बुटवल उपमहानगरपालिकाका विभिन्न वडाबाट भजन प्रतियोगितामा प्रतिनिधित्व भएको थियो ।

लोक संस्कृति संरक्षण गर्ने उद्वेश्यले एक दिने लोक भजन प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक दीपक कार्कीले जानकारी गराए ।

लोपउन्मुख अवस्थामा रहेको भजनलाई नयां पुस्तामा हस्तान्त्रण गर्नका लागि लोक भजन प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकहरुले बताएका छन् ।
उक्त भजन प्रतियोगितामा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले समाजमा रहेका कला संस्कृति र संस्कारको संरक्षण गर्ने दायित्व हो भने ।

परम्परादेखिको हाम्रो कला संस्कृतिसंग जोडिएको भजनको संरक्षण र सम्वद्र्वनका लागि बुटवल उपमहानगरपालिका कलाकारहरसंग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगरको अध्यक्षतामा भजन प्रतियोगिता भएको थियो ।

प्रथम लोक भजन प्रतियोगितामा बुटवल वडा नम्बर ५ प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर १२ द्वितीय, वडा नम्बर ७ तृतीय र वडा नम्बर २ ले शान्त्वना स्थान प्राप्त गरेका छन् । विजेता प्रतियोगीहरुले क्रमश ४० हजार, २५ हजार, २१ हजार र १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णयकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझी, नारायण लेकाली, डिल्लीनारायण पाण्डे, ओम ज्ञवाली, राधेश्यामराज भण्डारी रहेका थिए ।