तीनाउ र दानवमा अवैध उत्खनन्, अख्तियारद्दारा अनुसनधान
बुटवल, जेठ २८ गते । रुपन्देहीको तीनाउ र दानव खोलामा अवैध उत्खनन् भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । खोलामा अनियन्त्रित रुपमा अवैध तरिकाले उत्खनन भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको हो ।
अवैध उत्खनन र घाटगद्दी भए, नभएको भनी उजुरी परेपछि निरीक्षण तथा अनुसन्धान थालेको अख्तियारले जनाएको छ । आयोग बुटवलका प्रमुख राजेन्द्र पौडेलले उजुरीका आधारमा अनुसन्धान थालिएकोे जानकारी गराएका छन् ।
रुपन्देहीका पालिकाहरुले नदी र खोलाहरुमा ढंगा गिट्टी एवं बालुवा सहितको नदीजन्य वस्तु उत्खनन्का लागि लगाएको ठेक्काहरुमा मापदण्ड विपरीत उत्खनन भैरहेको विषयमा अहिले सबैतिर आलोचना भएको छ ।
खोलाहरुमा मापदण्ड विपरीत डोजर सहितका ठूला मेसिन प्रयोग गरेर भैरहेको अवैध उत्खनन रोक्नेतर्फ प्रशासनको कुनै ध्यान नपुगेको र ठेक्का लगाइएको रुपन्देहीको तिनाउ र दानवमा उत्खनन् म्याद सकिनै लाग्दा अवैध रुपमा डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको प्रयोग भैरहेको सरोकारवालाले जनाएका छन । बुटवल र तिलोत्तमामा ठेक्का लागेका ११ घाटमध्ये अख्तियारको टोलीले प्रभावको भरमा अनुसन्धान गरेको आरोप छ, तर प्रमुख पौडेलले त्यसलाई अस्वीकार गरेका छन् । उनले खोलामा अवैध उत्खनन भएको भनेर दैनिक उजुरी पर्ने गरेको बताए ।
स्रोतका अनुसार अख्तियारले पालिकाहरुले तोकेका सबै घाट र दोहन भएका भनिएका खोलाहरुको अनुसन्धान गरेको छैन । अख्तियारले जहां बढी दोहन भएको छ, त्यस क्षेत्रमा अनुसन्धान नगरी अन्य स्थानमा अनुसन्धान गरेको र उसले अनुसन्धान गरेको घाटमा परिणाम नै नपुगेको बताईएको छ ।
तिनाउ र दावन नदीबाट नदीजन्य सामग्री निकालन्न बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, सियारी, शुद्धोधन र मायादेवी गाउपालिकाले विभिन्न घाट तय गरी २८ ठाउंमा ठेक्का लगाएका छन् । जसमा बुटवलमा ६, तिलोत्तमामा ५, सियारीमा ४, शुद्धोधनमा ६ र मायादेवीमा ७ ठाउँमा ठेक्का लगाउने काम भएको छ । बुटवल उपमहानगरपालिका उपमेयर तथा अनुगमन समितिका संयोजक सावित्रादेवी अर्यालले खोलमा मापदण्ड भन्दा बाहिर गएर उत्खनन भएको गुनासो आएपछि अनुगमन गरिएको र तोकिएको मापदण्ड भन्दा बढी उत्खनन गर्न ठेकेदारलाई सचेत गराएको बताइन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहका प्रमुखहरुलाई अवैध उत्खनन रोक्न निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, सियारी गाउंपालिका, मायादेवी गाउंपालिका र शुद्धोधन गाउंपालिकाका प्रमुखलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्तो निर्देशन दिएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले नदीजन्य पदार्थको उत्खनन्का क्रममा घाटगद्धी नगरी सिधै क्रसरमा लैजाने र तोकिएको ठाउंभन्दा बाहिर गएर घाटगद्धी गर्ने गरेको बताए ।