ढाकावाङका अग्नी पीडितलाई आर्थिक सहयोग

अर्घाखांची, जेठ ३० गते । अर्घाखांचीको ढाकावाङका आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । गत १८ गते आगलागी हुंदा घरगोठ जलेर नष्ट भएका पीडितलाई ढाकावाङ–रुपन्देही सम्पर्क समाजले आर्थिक सहयोग गरेको हो ।

ढाकावाङ–रुपन्देही सम्पर्क समाजले संस्थाको कोषबाट आगलागी पीडितलाई सहयोग गरेको हो । भूमिकास्थान–१ ढाकावाङ साम्नेगाउंका आगलागी पीडित टेकबहादुर थापालाई पांच हजार आर्थिक सहयोग गरिएको सम्पर्क समाजका सहसचिव टेकराज भुसालले जानकारी गराए ।बुधबार भूमिकास्थान–१ का वडाध्यक्ष गोपालप्रसाद खनाल, वडा सदस्य मेघराज खनाल लगायतको उपस्थितिमा समाजका सहसचिव टेकराज भुसालको टिमले आगलागी पीडित थापालाई नगद पांच हजार सहयोग गरेको हो ।

सहयोगको राशी सानो भएपनि अग्नी पीडितलाई केही राहत मिल्ला भन्ने उद्वेश्यले सहयोग गरिएको र अन्य पीडितहरुलाई पनि सम्पर्क समाजको तर्फबाट सहयोग गरिने सहसचिव भुसालले बताए । सम्पर्क समाजले भूमिकास्थान–३ र ४ धारापानीका आगलागी पीडितलाई आर्थिक सहयोग र विभिन्न रोग लागेर उपचारमा समस्या आएकालाई आर्थिक सहयोग गरेको थियो ।

भूमिकास्थान–१ वडाध्यक्ष गोपाल खनालले नगरपालिका, वडा कार्यालय लगायत विभिन्न संघसंस्थाको सहयोगमा आवास निर्माण पूरा हुन लागेको बताउंदै सहयोग गर्न आग्रह गरे । गत बैशाखमा लागेको आगोले टेकबहादुर थापाको घरगोठ पसल र बस्तुभाउ पूर्णरूपमा जलेर नष्ट भएका थिए ।