लुम्बिनीको बजेट झण्डै ३९ अर्बको

  बुटवल, असार १ गते । आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि लुम्बिनी प्रदेशको बजेट आकार डेढ अर्बले घटेको छ । चालू आर्थिक बर्षका लागी ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याएको प्रदेश सरकारले आगामी बर्षका लागी ३८ अर्ब ९७ करोडको बजेट ल्याएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले सनिवार चालु आर्थिक बर्षको भन्दा १ अर्ब ५० करोड ९७ लाख घटाएर आगामी बर्षको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पूंजिगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बिनियोजन गरिएको छ ।

 

मन्त्री आचार्यले प्रदेश संचित कोषबाट बिनियोजन हुनेगरी ३८ अर्व ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयांको बजेट व्यवस्था गरिएको बताए । मन्त्री आचार्यले आगामी बर्षका लागि प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्याउन एक घर एक धारा कार्यक्रमका लागि १ अर्व ३० करोड बजेट बिनियोजन गरेको बताउनुभयो। प्रस्तुत बजेटमा कृषि, सिचाइ, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइएको छ । आवास, खानेपानी, स्वास्थ्य, शिक्षा सहितको व्यवस्थित सहर बिकासको योजनालाई पनि बजेटमा प्राथमिकता दिईएको छ ।

प्रदेशका गौरवका आयोजना प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण, कृषिको आधार सिचाइमा सुधार भन्ने नारासहित खेतीयोग्य जमिनमा बाह्रै महिना सिचाइ पुराउने गरी बजेट बिनियोजन गरिएको छ भने उज्यालो प्रदेश लुम्बिनी प्रदेश कार्यक्रम कार्यान्वयनका लागी पनि बजेट बिनियोजन गरिएको छ ।

रोकिएको झुम्सा चरङे झुम्सा सडक बजेटमा समावेश गरिएको छ। सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा खण्डको बिकल्पको रुपमा शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा अगाडी बढाएको यो सडक पछिल्ला सरकारले बजेट कटौती गर्दा अलपत्र रहेको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको नयां भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ ।