रोल्पाका टेकबहादुर भारतको हरियाणामा मृत्यु


खिमराज चालिसे, चन्डिगढ
भारतको हरियाणा पञ्चकुलास्थित डिएलफल भ्यालीमा मृत अवस्थामा भेटिएका रोल्पाका टेकबहादुर विकको मृत्यु शङ्कास्पद रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न संघसंस्थाले दाबी गरेका छन् ।

जुन १५, २०२४ का दिन भएको उक्त मृत्युलाई मूल प्रवाहसमेत विभिन्न संस्थाले शंकास्पद दाबी गरेका हुन् । ५३ वर्षीय मृतक टेकबहादुरको शव पञ्चकुलास्थित इडब्लुएस फल्याट डिएलफल भ्यालीमा बाथरुममा फेला परेको थियो । मृतकको जुन १७ का दिन दाहसंस्कार गरिएको थियो ।
दाहसंस्कारस्थलमा सम्पन्न श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सल्लाहकार प्रेम आचार्य, प्रगतिशील नेपाली समाजका राजेश सोनी, एकता मञ्चका केन्द्रीय सदस्य टेकबहादुर विकलगायत सो मृत्यु शङ्कास्पद बताए ।

त्यस्तै, प्रवासी नेपाली संघ र रोल्पाली सेवा समाजका कार्यकर्ता, विकका पारिवारिक सदस्य तथा आफन्तजनको बिचमा समाजका प्रतिनिधिहरूले सो मृत्यु शङ्कास्पद नै भएको दाबी गरे ।
सञ्चारकर्मी खिमराज चालिसेको सञ्चालन तथा पारिवारिक सदस्य कैलास विकको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा एक मिनेट मौनधारण गरिएको थियो ।
मृतक टेकबहादुर रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नम्बर–६ कोटगाउं निवासी हुन् ।























