सुर्तीजन्य पदार्थको प्रयोगमा वार्षिक ५४ अर्व खर्च

बुटवल, असार ७ गते । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगमा वार्षिक ५४ अर्व रुपैयाँ खर्च हुने गरेको स्वास्थ्य क्षेत्रको तथ्यांकले देखाएको छ । क्यान्सरको उपचारमा राज्यलाई ४० अर्व भार पर्ने गरेको तथ्यांकले उक्त तथ्यांकले दावी गरेको छ ।सुर्तीजन्य पदार्थको प्रयोग गर्ने मानिसको स्वास्थ्यमा धेरै समस्या देखिएकाले सर्तीजन्य पदार्थ विक्रिी वितरणमा रोक लगाउन राज्यलाई दवाव दिनुपर्ने सरोकारवालालहरुले बताएका छन् ।स्थानीय सरकारहरुले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि ठोस कदम चान्न आवश्यक रहेको उनीहरको भनाइ छ ।

नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको सरोकारवालाले बताएका छन् । सुशील कोइराला प्रखर क्यान्सल अस्पताल बाँकेको आयोजना र हेल्थ आवाजको सहकार्यमा शुक्रबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्ने सहभागी वक्ताले सुर्तीजन्य पदार्थ तथा धुमपान र मध्यपान त्याग्न आग्रह गरेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा. शम्भु खनालले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएकाले यसको नियन्त्रणका लागि प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने बताए ।सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखमा हुने क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउंदै सुर्तीजन्य पदार्थको सेवन नर्गन आग्रह गरे ।

पछिल्लो समय सुर्तीजन्य पदार्थ प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको संख्यासमेत बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघातलगायत रोग हुने गरेका छन् । नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २८।९ प्रतिशतले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्यांक छ । अस्पताल, शैक्षिक संस्था, सार्वजनिक स्थान र मन्दिर छेउँछाउँमा सूर्तिजन्य पदार्थको बिक्री वितरण र प्रयोग गर्न नपाइने कानुनी प्रावधान छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ ले यसलाई कानून विपरित मान्छ । यही ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्री वितरण र सेवन गर्न बर्जित गरेको छ । अस्पताल लगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तिजन्य पदार्थको बिक्रि वितरण गर्न नपाइने नेपालको वर्तमान एनमा छ । तर यो ऐन कतै लागू नभएको सरोकारवालाको भनाई छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले उपमहानगरभित्र टोल विकास संस्था, आमा समूह लगायत विभिन्न क्लवहरुलाई लक्षित गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सुरु गरिएको बताए ।
तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कमल पाण्डेले तिलोत्तमाभित्र पसल तथा सार्वजनिक स्थलहरुमा समेत सुर्तीजन्य पदार्थको किनबेचमा रोक लगाइएको र यसको प्रभावकारी कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सुर्तिजन्य पदार्थबाट हुने जोखिमबाट आम नागरिकमा सन्देश पु¥याउन जरुरी रहेकाले सञ्चारकर्र्मीहरुलाई अभिमुखीकरण गर्नुपर्नेमा जोड दिए । सबै स्थानीय सरकारले समूहिक पहल गरेमा सूर्तीजन्य पदार्थ सेवनकर्ताकको संख्या घट्न सक्ने बताए ।
हेल्थ आवाजका कार्यकारी सम्पादक भिषा काफ्लेले सुर्तिजन्य पदार्थको प्रयोग र सेवनबाट क्यान्सरको जोखिम सबभन्दा बढी हुने र यसको नियन्त्रणका लागि तीनै तहका सरकारहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।