बुटवलको डेल्टामा आगलागी हुंदा ५० करोडको क्षती, एमालेद्दारा अवलोकन

बुटवल, असार ७ गते । बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी हुंदा ५० करोड बढीको क्षती भएको सञ्चालकहरुले बताएका छन् । डेल्टा कम्प्लेक्समा बिहबार सांझ अचानक आगलागी हुंदा कम्प्लेक्सका सबै समान जलेर नष्ट भएका थिए । आगलागीबाट ५० करोड बढीको क्षती भएको सञ्चालक प्रकाश भुसालले जानकारी गराए ।

आगलागीबाट भएको क्षतिको विरण संकलनका लागि शुक्रबार विहान सञ्चालक समितिहरुको बैठक बसेको थियो । बिहीवार सांझ लागेको आगो शुक्रबार राती २ बजेतिर नियन्त्रण भएपनि सबै सामान तथा भवन जलेर नष्ट हुंदा ठूलो क्षती भएको सञ्चालकहरुले बताएका छन् । मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट सांझ साढे ६ बजेदेखि आगलागी सुरु भएको थियो । झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, कांचो र तयारी कपडा, खेलकुंदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको मार्ट सञ्चालन गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो वस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनि कम्प्लेक्स भने पूर्णरुपमा नष्ट भएको छ । आगलागीपछि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरि १३ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए ।

फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्णरुपमा जलेर नष्ट भएको छ । बुटवलका ठुला व्यवासायी र शिक्षण पेशाका अगुवाहरुले ५ वर्ष पहिले संचालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुईवर्षदेखि नेपाली जुत्ता घर र नेपाली लुगा घरपनि संचालन गरिएको थियो ।

एमालेको अवलोकन

यस्तै एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीसहित एमालेका नेताहरुले बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा आगलागीबाट भएको क्षतीको अवलोकन गरेका छन् । आगलागीबाट भएको क्षतीको अवलोकनपछि एमाले पोलिटव्यूरो सदस्य गिरीले आर्थिक मन्दीको बेलामा आगलागीले ठूलो क्षती हुंदा व्यवसायी मारमा परेको बतांदै उनले भने – घटनाले आफुहरुलाई दुखी बनाएको छ ।

नेता गिरीसंग एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्य एवं बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, केन्द्रीय सदस्य गोमा आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव चित्रबहादुर कार्र्की, उपसचिव बाबुराम पन्थी, जिल्ला सदस्य यमराज पाण्डे, क्रिषि पाण्डेलगायतले अवलोकन गरेका थिए ।