सदस्यता टुंगो नलगाई निर्वाचन गर्न हुदैन – प्रगतिशील

बुटवल, असार ९ गते । नेपाल पत्रकार महासंघले सदस्यता विवादको विषयलाई टुंगो नलगाई निर्वाचन तालिका घोषणा गरेकोप्रति प्रगतिशील पत्रकार संघ, नेपालले आपत्ती जनाएको छ । सदस्यता सुद्विकरणमा देखिएको विवाद टुंगाएर मात्रै निर्वाचनको मिती तोक्नु पर्ने प्रगतिशील पत्रकार संघले बताएको छ ।

महासंघले सुद्विकरणको नाममा फरक विचार राख्ने पत्रकारहरुको सदस्यता खारेज गरिएको प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले बताए । आफ्नालाई मात्रै सदस्यता वितरण गरी निर्वाचन तालिकासहित निर्वाचनको मिती तोक्नु गलत भएको अध्यक्ष पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले विधान, सुर्खेत साधारणसभा र जेठ २० गतेको लिखित सहमतिविरुद्ध गएपछि प्रगतिशीलले संघर्षमा जाने चेतावनी दिएको छ । प्रगतिशील पत्रकार संघ सदस्यता विवादमा आन्दोलन, अदालत र सहकार्य गरी संघर्षको तीनओटै मोर्चाबाट अगाडी बढ्ने अध्यक्ष पोखरेलले बताए ।

असार ७ गते राती जारी नामावलीमा आफ्नो संगठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता खारेज गरिएको, नयां पत्रकारलाई सदस्यता नदिइएको र स्थानान्तरण विवाद टुंगो नलगाइएकाले यो समस्या समाधान नगरिए चुनाव गर्न नदिने प्रगतिशीलको दाबी गरेको छ । सदस्यता शुद्धीकरणको सन्दर्भमा आस्थाकै आधारमा क्रियाशील पत्रकारको सदस्यता खारेज गरिएको, मापदण्ड पुगेका नयां पत्रकारलाई सदस्यता नदिइएको र स्थानान्तरणको विषयलाई नसमेटिएकाले समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु पर्ने प्रगतिशीलको माग छ । नेपाल पत्रकार महासंघको विभेदकारी नीति तथा व्यवहारको विरोध गर्दै प्रगतिशील पत्रकार संघ नेपालले गत जेठ १५ गते महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी गरेको थियो ।

समस्या समाधान गर्ने गरी महासंघको तर्फबाट अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले लिखित सहमती गरेपछि ताला खोलिएको र अहिले लिखित सहमती महासंले उलंघन गरेकाले आन्दोलनमा उत्रनु परेको अध्यक्ष श्यामलाल पोखरेलले बताए । प्युठान, कपिलवस्तु, बाग्लुङ, दाङ, बांके, अर्घाखांची, काठमाडौं, कालीकोटलगायतका जिल्लामा प्रगतिशीलसम्बद्ध क्रियाशील पत्रकारप्रति आस्थाको आधारमा भेदभाव गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रगतिशील पत्रकार संघ, पत्रकार महासंघको सुर्खेत साधारणसभाको निर्णय अनुसार सदस्यता शुद्धीकरणको विषयमा सहमत रहेको तर सुद्विकरणको नाममा क्रियाशील जुनुसुकै आस्था बोकेका पत्रकारहरुको सदस्यता खारेज गर्न नपाइने विज्ञप्तमिा उल्लेख छ । महासंघको विधानले सदस्यतासम्बन्धी सम्पूर्ण कार्यक्रम निर्वाचनभन्दा छ महिनाअघि सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । तर महासंघले निर्वाचनको मिती घोषणा गर्दासम्म पनि सदस्यताको विषय टुंगो लगाउन सकेको छैन ।

सम्पूर्ण क्रियाशील श्रमजीवी पत्रकारको सदस्यताको ग्यारेन्टी नगरिकन हुने चुनाव महासंघको विधान विपरित हुने छ । महासंघको विधान र निर्णय अनुसार सदस्यता नामावली जारी गरी शीघ्र निर्वाचन हुनुपर्ने पर्ने अध्यक्ष पोखरेलले बताए ।

नेपाल प्रेस यूनियन, समाजवादी पे्रस संगठले पनि विवादित पत्रकार महासंघको सदस्यता शुद्धीकरणप्रति आपत्ती जनाउदै विरोध जनाएको छ ।