रुपन्देहीमा सबै ठूलो बजेट बुटवलको

बुटवल, असार ११ गते । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानमा विशेष जोड दिंदै रुपन्देहीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । एक उपमहानगर, ५ नगरपालिका र १० गाउंपालिका गरी १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाले बजेट ल्याएको छ ।

बुटवल र सिद्धार्थ नगरले आइतबार बजेट ल्याएका हुन् भने अन्य पालिकाले सोमबार बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका केही पालिकाले भने बजेट ल्याउन सकेनन् । बुटवलले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम पेश गरेकी हुन् । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिकाले १ अर्ब ९० करोड, देवदह नगरपालिकाले १ अर्व ५० करोड १० लाख ६५ हजार पांच सय रुपैयाँको बजेट ल्याएको छ ।

तिलोत्तमा नगरपालिकाको २ अर्ब ७६ करोड ६२ लाख २२ हजार, सैनामैना नगरपालिकाले १ अर्ब १० करोड १२ लाख ७२ हजार र सिद्धार्थनगर नगरपालिकाले १ अर्ब ४ करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याएका छन् । कृषि र सिंचाईलाई प्राथमिकता राख्दै कोटहीमाई गाउँपालिका ४७ करोड ६९ लाख बराबरको बजेट ल्याएको छ । यस्तै, सम्मरीमाई गाउंपालिकाले ५० करोड ४ लाख १० हजार, सियारी गाउँपालिकाले ९० करोड र मर्चवारी गाउंपालिकाले ४८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । यस्तै, कंचन गाउंपालिका ५७ करोड २१ लाख २० हजार ६५०, ओमसतिया गाउंपालिकाले ४९ करोड २२ लाख १८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

ओमसतियाको नीति तथा कार्यक्रम र बजेट गाउंसभाबाट पारित भएको छ । शुद्धोधन गाउंपालिकाले ७० करोड २७ लाख ४८ हजार र गैडहवा गाउंपालिकाले ६३ करोड बराबरको बजेट ल्याएका छन् । अधिकांश पालिकाले सडक, नाला, विद्यालय भवन निर्माण, स्मार्ट लाइट जडान, मठमन्दिर निर्माण, फोहोर व्यवस्थापन, कृषिलाई आधुनिकी करण लगायतमा जोड दिएका छन् ।

रुपन्देहीका १४ पालिकाले बजेट ल्याउंदा रोहिणी गाउंपालिका र मायादेवी गाउंपालिकाको भने गाउं सभा बैठक नै बस्न सकेनन् । आन्तरिक असमझदारीले यी पालिकाले बजेट ल्याउन सकेनन् । रोहिणीको अघिल्लो वर्ष पनि ढिला गरी बजेट आएको थियो । दुबै पालिकाको गाउंसभा बस्नेबारे अझै टुंगो छैन ।