भैरहवाको सेज सञ्चालनमा समस्या

भैरहवा, असार १९ गते । रुपन्देही भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा सरकारका तर्फबाट समाधान गर्नुपर्ने दर्जन समस्या छन् । दशकदेखि सरकारी तहबाट ढिलासुस्ती हुँदै आएको छ । जसले गर्दा यसअघि कैयौं उद्योगीले प्लट लिएर पनि उद्योग स्थापना गरेनन् । पछिल्लोपटक सेजमा रहेका सबै प्लटमा उद्योग निर्माणका लागि सम्झौता भयो । तर, झण्झटिलो प्रावधान र उद्योगीलाई दिनुपर्ने न्युनतम सुविधासमेत नदिएको उद्योगीहरुले बताएका छन् ।

साढे दुईदशक अघि निर्यात बृद्धिगरी ब्यापार घाटा कम गर्ने भन्दै सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को अवधारणा ल्याएको थियो । सोहीअनुरुप मुलुकमै पहिलोपटक दुईदशक अघि भैरहवामा जग्गा अधिग्रहण गरी सेज निर्माण सुरुभयो । सरकारी संरचना निर्माण भएपनि लामो समय भैरहवा सेजमा उद्योगी आएनन् । मन्त्री फेरिएसँगै सधैंजसो सेज उद्घाटन र निरीक्षण गर्ने क्रम चलिरह्यो । पछिल्लो पटक केही उद्योग निर्माण भएर संचालनमा आएका छन् ।

संचालित उद्योगले बाह्य मुलुक निर्यात पनि गरेका छन् । तर, सेज भने अझै पूर्ण संचालनमा आउन सकेको छैन । सेज ऐनप्रति उद्योगी सन्तुष्ट छैनन् । भाडादर बढी भएको गुनासो उनीहरुको छ । अहिले सेजमा रहेका उद्योगीले प्रति वर्गमिटर २० रुपैयाँ भाडा तिरीरहेका छन् । यसलाई १० रुपैयाँमा झानुपर्ने उद्योगीको माग छ । तत्काल आवश्यक विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, इन्स्योरेन्सको समस्या छ । उत्पादन निर्यात र मेसिनरी सामान आयातमा झन्झटिलो भन्सार प्रक्रिया झनै समस्या छ, उद्योगीहरुका लागि । एकद्वारा प्रणाली नहुँदा वडादेखि काठमाडौंसम्म धाउँदा धाउँदै हैरानी खेपेको उद्योगीहरु गुनासो गर्दै आउका छन् ।
सेजमा देखिएका समस्या समाधान गर्न प्राधिकरणले पछिल्लो समय विशेष महत्व दिएर काम गरिरहेको दावी गरेको छ ।

सेजमा रहेका ६९ वटा प्लट अहिले खाली छैनन् । ८ वटा उद्योग निर्माण भएर उत्पादन गरिरहेका छन् । उद्योगले निकासीसमेत गरिरहेको प्राधिकरणले जनाएको छ । पछिल्लोपटक सेजमा ३ वटा उद्योग निर्माणाधीन छन् । ७ वटा उद्योगले सेज प्राधिकरणसँग निर्माण सम्झौता गरेका छन् । ८ वटा उद्योगले प्लट लिएर सम्झौताको तयारीमा छन् ।
झण्झटिलो प्रावधान हटाएर सहज बनाउन उद्योगी व्यवसायीले सरकारसंग माग गरेका छन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले सेजको समस्या समाधान गर्न नीतिगत र व्यवहारिक समस्याको पहिचान गरिने बताए ।