निःशुल्क अनलाइन कक्षा संचालन – ओली

बुटवल, असार १९ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शिक्षा गुणस्तर हुनुपर्ने अध्यक्ष ओलीको भनाइ छ । एमालेको भातृ संगठन अनेरास्ववियु रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै ओलीले विषय विज्ञहरुबाट मुख्य विषयको अनलाइन कक्षा सञ्चालन गरिने बताए ।

एसइईको पुरक परिक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा संचालन गर्ने बताउंदै अध्यक्ष ओलीलले भने –गुणस्तरका शिक्षक नहुंदा धेरै विद्यार्थी एसइई परिक्षामा फेल भए । अब विज्ञ शिक्षकहरुबाट मुख्य– मुख्य विषयको निः शुल्क अनलाइन कक्षा संचालन गरिन्छ । फेल भएका विद्यार्थीलाई मौका परिक्षामा राम्रो तयारी गरेर सहभागी बनी पास हुन विद्यार्थीलाई हौसला दिए ।

परिक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाईन मार्फत निशुल्क कक्षा संचालन गरिने ओलीको भनाइ छ । शिक्षकहरुले आफुमा भएको ज्ञान तथा सीप विद्यार्थीलाई दिन नसक्दा धेरै विद्यार्थी फेल भएको ओलीको तर्क छ ।

अनेरास्ववियूले एसइई परिक्षामा जिपिए ४ ल्याएर उत्तिर्ण भएका रुपन्देहीको सैनामैना रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तिर्ण भएका १ हजार २ सय २८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

२०८० चैत्र १५ गतेदेखि संचालन भएको एसइई परिक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका परीक्षार्थीका लागि राष्ट्रिय परिक्षा बोर्डले आगमी साउन २३ गतेदेखि २९ गतेसम्म पुरक परिक्षाको मिती तोकेको छ ।