अविरल वर्षाले देशभरको जनजीवन प्रभावित

बुटवल, असार २२ गते । शुक्रबार रातीदेखि अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । देशैभरका धेरै ठाउंमा शुक्रबार रातिदेखि परेको पानीले जनजीवन प्रभावित भएको हो । देशभरका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । काठमाडौं उपत्यकादेखि तराई र पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेको छ ।

वर्षाले गर्दा धेरै ठाउंका खोलानाला र नदीको जलस्तर बढेको छ । शुक्रबार रातीदेखि काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउंमा ठुलो वर्षा भइरहेकाले सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । रुपन्देहीको तीनाउ, दानव नदी, र्घाखांचीको सन्धिखर्क, गुल्मीको बडिगाड लगायतका साना तथा ठूला नदीको जलस्तर बढेकाले उक्त नदी आसपासको वस्ती प्रभावित बनेका छन् । भारी बर्षाका कारण लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीका केही बस्तीहरु डुबानमा परेका छन् । ढल निकास अबरुद्ध हुंदा मन्त्रालय जलमग्न भएका छन् । यस्तै पाल्पाका विभिन्न ठाउँमा ठुलो वर्षा भइरहेको छ । वर्षाले गर्दा यी क्षेत्र भई बग्ने साना खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लुम्बिनी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेसका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

दाङमा बाढीले बगाएर एक जना बेपत्ता

अविरल वर्षासंगै दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको हो । एक जना बेपत्ता भएका छन् । दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउंपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले बताएको छ । सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिनुभयो ।

पाल्पाको सिद्धार्थ राजमार्गमा अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसंगै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छ्न । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।