वर्षाले ठाउंठाउंमा सडक अबरुद्ददेखि डुवान, जनजीवन कष्टकर

बुटवल, असार २३ गते । लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको । शुक्रबार रातीदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुराएको छ ।

पाल्पा, गुल्मी, अर्घाखांची, प्यूठान, रोल्पा, पूर्वी रुकुम र दाङका सडक सञ्जाल प्रभावित भएका छन् । अविरल वर्षाकै कारण हवाई सेवा समेत प्रभावित भएको छ । लुम्बिनीमा दर्जन मुख्य सडकदेखि थुप्रै सहायक सडक अवरुद्ध भएका छन् । आइतबार लुम्बिनीमा विभिन्न ९ वटा ग्रामीण तथा मुख्य सडकहरु अवरुद्ध भएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दिएको जानकारी अनुसार पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो भरेर सडक अवरुद्व भएको छ ।


शनिबारदेखि अबरुद्व भएको गुल्मी पाल्पा जोड्ने सडकमा पनि पहिरो खसेर अवरुद्ध भएको छ । गुल्मीमा रिडी–तम्घास जोड्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । रिडीदेखि सत्यवती गाउँपालिका जोड्ने सडक पनि अवरुद्ध छ । यसैगरी तम्घासदेखि सिमलटारी जोड्ने सडक पनि पहिरोले अवरुद्ध भएको प्रहरीले बताएको छ । अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सकड पहिरोले अवरुद्ध छ भने प्युठानको भालुवाङ–चकचके सडक खण्ड अन्तरगत माण्डवी गाउँपालिका १ र ३ मा पहिरोका कारण अवरुद्ध छ । प्यठान जाने उक्त सडक शुक्रबार रातीदेखि अबरुद्व भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल–नारायणगढ सडकको दाउन्नेमा सडक अबरुद्व हुने र एकतर्फी रुपमा खुल्ने गरेको प्रहरलिे बताएको छ । निरन्तरको वर्षाले डुवानका साथै मानवीय क्षती भएको दाङमा पनि सडक अबरुद्व हुने र खुल्नेक्रम जारी छ । विभिन्न ठाउँका सडकहरु अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेकाले सचेत भएर यात्रा गर्न प्रहरीले आमनागरिकलाई आग्रह गरेको छ । दाङमा बाढीले बगाएर आइतबारसम्म ३ जनाको मृत्यु भएको छ ।

यता रोल्पा र पूवी रुकुममा पनि अविरल वर्षाका कारण सडकहरु अबरुद्व हुनेक्रम बढेकाले सचेत भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।