अर्घाखांचीको भूमिकास्थानमा चियाखेती

अर्घाखांची, असार २४ गते । अर्घाखांचीको भूमिकास्थानमा पर्ने सेङलेङ लालीगुरांस देउराली सामुदायिक वनमा व्यवसायिक चियाखेती सुरु गरिएको छ । बनमाराले अन्य जडिबुटी तथा घांससमेत सखाप बनाइपछि बनमारा हटाएर चियाखेती शुरु गरिएको हो ।

अर्घाखंँचीमै पहिलो पटक सेङलेङमा व्यवसायिक चियाखेती थालिएको हो । भूमिकास्थान नगरपालिकाको समन्वयमा सामुदायिक वनको २१ र निजितर्फ १७ गरि ३८ रोपनी क्षेत्रफलमा ३२ हजार चियाका बिरुवा रोपिएको लालीगुरांस देउराली सामुदायिक वनका अध्यक्ष गिरबहादुर नेपालीले जानकारी गराए ।

समुन्द्री सतहदेखि २ हजार मिटर भन्दा बढि उचाइमा रहेको सेङलेङमा भूमिकास्थान नगरपालिकाले पर्यटन हबको रुपमा विकास गर्नेगरी काम थालेको छ । प्राकृतिक रुपमा मनमोहक वाताबरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकलाई आर्कषित गर्न सकिने भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले बताउनुयो ।भूमिकास्थानलाई कृषि, पर्यटन, उद्योग र ब्यापारको माध्यमबाट आर्थिक समृद्धि र आत्मनिर्भर पालिका बनाउने योजना रहेको नगरप्रमुख थापाले बताए ।

जनशक्ति मार्फत बांझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला निर्माण गरिने र सेङलेङ होमस्टेसहित पर्यटकीय क्षेत्रको विकास गर्ने भूमिकास्थान नगरपालिकाको योजना छ । गत बर्षदेखि सुरु भएको कर्मशिल जनशक्ति परिचालन मार्फत बांझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला र विद्यालयमा पढ्दै कमाउंदै रमाउँदै कार्यक्रमले नगरवासीमा उत्साह जागृत भएको नगर प्रमुख थापाको दावी छ ।

सामुहिक एकतामा अर्घाखांची पहिलो चिया पकेट कार्यक्रमको रुपमा सेङलेङमा चिया खेती सफल हुने भूमिकास्थानका कृषि शाखा प्रमुख राम बहादुर थापाले बताए ।
भूमिकास्थानको सेङलेङ गाउं शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमूना गाउं हो ।

अग्ला पहाडदेखि बेशी सम्मका रोचक दृश्य देख्न र चिसो मौसमको आनन्द लिन सकिने भएकाले सेङलेङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने स्थानीयको भनाइ छ ।