विधालयहरुलाई फजुल खर्च रोक्न अभिभावक संघको सुझाव

बुटवल, असार २४ गते । अभिभावक संघ रुपन्देहीले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना र विदाई कार्यक्रमका नाममा गर्ने फजुल खर्च रोक्न माग गरेको छ । विद्यालयहरुले कक्षा ११ मा भर्ना हुने नयां विद्यार्थीलाई स्वागत कार्यक्रम र कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम गर्दा अभिभाकबाट मोटो रकम असुल्ने गरेका छन् ।
शिक्षाका नाममा अभिभावकबाट अनावश्यक रुपमा मोटो रकम उठाएर तड्क भड्कका साथ पार्टी प्यालेस, होटलहरुमा गरिके कार्यक्रमहरु रोक्नु पर्ने अभिभावक संघ रुपन्देहीले बताएको छ ।राष्ट्रिय स्तरका कलाकार बोलाउने र काठमणडैबाट शिक्षा क्षेत्रका प्रतिनिधिलाई बोलाइएर ठूलो खर्च गरी तड्कभड्कका कार्यक्रमहरुले विद्यार्थीलाई कुनै फाइदा नहुने भएकाले यस्ता खालका कार्यक्रम रोक्नु पर्ने अभिभावक संघ रुपन्देही रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले बताए ।

स्कुलहरुले अनावश्यक पैसा उठाएर कार्यक्रमहरु गर्दै आएको विषयमा अभिभावकहरुबाट गुनासो आएकाले यस्ता खालका कार्यक्रमहरु रोकेर आफ्नै स्कुलमा कम खर्चमा कार्यक्रम गर्न अभिभवाक संघले आग्रह गरेको छ । संघले शैक्षिक सत्र २०८१ । ०८२ देखि शिक्षा क्षेत्रमा अशोभनीय कार्यक्रमहरु नगर्न, नगराउनु संघले रुपन्देहीका सबै स्कुल तथा उच्च माविहरुलाई अनुरोध गरेको छ ।

अभिभावकलाई सहभागिता गराएर विद्यार्थीका कला तथा प्रस्तुती देखाएर स्कुलैमै स्वागत र विदाई कार्यक्रम गर्न सकिने अभिभावक संघले बताएको छ ।