बैंक तथा वित्तिय संस्था पीडितद्दारा सिटिजन बैंकमा तालबन्दी

   बुटवल, असार २५ गते । बैंक तथा वित्तिय संस्था पीडितहरुले रुपन्देहीको फर्साटिकरमा सञ्चालित सिटिजन बैंकमा तालाबन्दी गरेका छन् । सिटिजन बैंकको शाखा कार्यालयले ऋणीप्रति ज्यादती गरेको भन्दै मंगलबार बैंक तथा वित्तिय संस्था पीडितहरुले तालाबन्दी गरेका हुन् । बैंक तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीको आयोजनामा पीडितहरुको सहभागितामा उक्त बैंकमा तालाबन्दी गरिएको हो ।

सम्झौता भन्दा बाहिर गएर बैंकले मनोमानी व्याज बढाएर ऋणीको सम्पति लिलाम गरी बैंकले आफ्नो नाममा गराएको भन्दै पीडित पक्षले बिरोध प्रदर्शन गरी तालाबन्दी गरेका हुन् । तत्कालिन शुद्वोधन शुद्वोधन गाउपालिकाका पूर्वअध्यक्ष किसुनचन्द  चौधरीको उद्योगसहितको ५१ कठ्ठा जग्गा सिटिजन बैंक फर्साटिकर शाखाले लिलाम गर्दिएपछि पीडितहरुले बैंकमा तालाबन्दी गरेका हुन् ।

किसनचन्द चौधरीको ५१ कठ्ठा जग्गाको १४ करोड मुल्याकंन गरेर सिटिजन बैंकले ६ करोड लगानी गरेको थियो । अहिले उद्योगसहित उक्त जग्गाको ७ करोड ७६ लाख मुल्याकंन र करिव ८ करोड ऋण देखाएर मनोमानी रुपमा लिलाम गरी बैंकले जग्गा आफ्नो नाममा गराएको पीडित किसनचन्द चौधरीले बताउनुभयो । पीडित किसनचन्द चौधरीका अनुसार गत जेठ १४ गते बैंकले जानकारी नगराई लिलाम गर्दिएको थियो ।

यही असार ५ गते मात्र जानकारी पाएपछि धौधरीसति बैंक तथा वित्तिय संस्था पीडितहरुले बैंकको बिरोध गर्दै सम्पति फिर्ताको माग गरेका छन् । ऋण तिर्नका लागि बैंकमा धितो राखिएको जग्गा मध्येबाट १० कठ्ठा विक्री गर्न खोज्दा बैंकले विक्री गर्न नदिएको पीडित चौधरी परिवारको गुनासो छ । सिटिजन बैंक शाखा कार्यालय फर्साटिकरका प्रमुख अर्जुन पौडेलले राष्ट्र बैंकको नियम अनुसार प्रकृया पुराएर लिलाम गरिएको र पीडित पक्षले चाहेमा एक वर्ष भित्र आफ्नो सम्पति फिर्ता गर्न सक्ने बताए ।

बैंक तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीले बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी गरेको भन्दै देशभर बिरोध प्रदर्शन गर्दै आएको छ । ऋण लिंदाको सहमति अनुसारको व्याज कायम गरी कोरोना कालको व्याज राहत स्वरुप मिनाहा गरी धितो लिलाम प्रकृया बन्द गर्नुपर्ने बैंक तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देही सचिव विशाल पौडेलले बताए ।
बैंक आतंक बन्द गरी एकल अंकको व्याजदर कायम गर्नुपर्ने बैंक तथा वित्तिय संस्था पीडितहरुको माग छ । त्यस्तै ऋणीहरुसंग समन्वय गरी समय थप गर्नुपर्ने पीडितहरुले माग गरेका छन् । सम्झौता अनुसारको व्याज तिर्न ऋणीहरु तयार भएको बताउंदै ऋण खाएको भरमै सम्पती लिलाम गर्ने प्रकृया बन्द नभए आन्दोलन चर्काउने मानबहादुर रसाइली र महेन्द्र शाहीले बताए ।

बैंक तथा वित्तिय संस्था पीडितहरुका माग तत्काल सम्बोधन गर्न नागरिक बचाउ अभियानका अभियान्ता दिनेश भण्डारीले सरकारसंग माग गरे । ऋणीमाथि अनावश्यक टर्चर दिने बैंक तथा वित्तिय संस्थाहरुमा तालावन्दी गरेर आन्दोलनमा उत्रने बैंक तथा वित्तिय संस्था पीडित समन्वय समितिका अध्यक्ष दुर्गा पोखरेलले चेतावनी दिएका छन् ।
अनावश्यक तथा सम्भौता भन्दा बाहिर गएर ८ प्रतिशत व्याजमा ऋण लिएको पैसाको १७ देखि १८ प्रतिशत व्याज गराएर ऋणीहरुका घरजग्गा लिलाम गर्ने सामन्तबादी सोंच बोकेका बैंक र बैंकका सञ्चालकहरु नसुध्रिए भौतिक कारवाहीमा उत्रने अध्यक्ष पोखरेलको चेतावनी दिए ।

हामीले घरखर्चदेखि उद्योग व्यवसाय सञ्चालनका ऋण लिएको सत्य हो हामी उक्त ऋण तिर्न तयार छौ तर अनावश्यक व्याज बढाएर हर्जाना जोडेर ऋण बढाउने र घरजग्गा लिलाम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले हाम्रा माग सम्बोधन नगरे जाइलाग्ने अध्यक्ष पोखरेलको भनाइ छ ।