बुटवलको कान्ति मावि व्यवस्थापन समितिविहिन, अध्यक्षमा एमाले,कांग्रेसको दावी


बुटवल, असार २८ गते । बुटवलको कान्ति माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समितिविहिन भएको छ । राजनीतिक खिचातानीका कारण विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलहरुबीच सहमती हुन नसकेपछि कान्ति माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समितिविहिन भएको हो ।

२०८० बैशाख २ गते विद्यालय व्यवस्थापन समितिको समय सकिएको थियो । पुरानो विद्यालय व्यवस्थापन समितिको समय सकिएपछि नयां समिति गठन गर्ने बेला एमाले र कांगे्रसले अध्यक्ष पदमा आफ्नो दलको हुनुपर्ने अडान राखेपछि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि गत जेठ ६ गते विद्यालयमा भेला आयोजना गरिएको थियो । उक्त भेलाबाट सहमति हुन नसकेपछि जेठ १३ गते दोस्रो भेला जेठ आयोजना गरिएपनि सहमति हुन नसकेको विद्यालयका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीले बताए । 
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एमालेले टंकप्रसाद पराजुली र कांगे्रसले जीवन ओझालाई अध्यक्ष बनाउने अडान लिएपछि सहमती नहुंदा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हो । एमाले र कांगे्रसले अध्यक्षमा दावी गरेपछि नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण अर्याल र नागरिक समाजको तर्फबाट नारायण नागिलाले पनि अध्यक्षको दावी गरेपछि विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषय पेचिलो बन्दै गएको छ ।

विद्यालय व्यवस्थापन समिति नहुंदा पठन– पाठनमा समस्या भएको विद्यालयका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीले बताए । प्रध्यानाध्यापक ज्ञवालीका अनुसार व्यवस्थापन समिति नहुंदा १२ जना शिक्षक नियुक्त गर्न नसकिदा पठन– पाठनमा समस्या भएको हो । विद्यालय व्यवस्थापन समिति नहुंदा विद्यालयले विद्यालयका योजनाहरु पेश गर्न सकेको छैन । जसले गर्दा यस वर्ष कान्ति माध्यमिक विद्यालय स्थानीय सरकारबाट पाउने भौतिक योजनाबाट बन्चित भएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजनीतिक दलबीच सहमती नजुटेपछि सहजीकरणका लागि जेठ १६ गते ३ सदस्य रहेको समिति गठन गरिएको थियो । वडाध्यक्ष नरिश्वर शर्मा संयोजक, विष्णु ढकाल र टंकप्रसाद पराजुली सदस्य रहेको सहजीकरण समिति गठन गरिएको थियो ।
दलवीच कुरा नमिल्दा उक्त सहजीकरण समितिले विद्यालय व्यवस्थापन समिति गठन गर्न सकेन । व्यवस्थापन समिति गठनमा सहमती नजुटेपछि सहजीकरण समितिले यही असार २५ गते विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावली बमोजीम उम्मेदवारलाई सहभागी गराइ लोकतान्त्रिक विधिबाट निर्वाचन अगाडि बढाउन सिफारिस गरेको छ । दलबीच अध्यक्षको पदमा कुरा नमिल्दा अब विद्यालय व्यवस्थापन समितिका लागि बुटवलको कान्ति माध्यमिक विद्यालयमा चुनाब हुने सम्भावना रहेको छ ।
सहजीकरण समितिका संयोजक तथा वडाध्यक्ष नरिश्वर शर्माले सहमतिका लागि दलहरुसंग छलफल भैरहेकाले सहमतिको प्रयास जारी रहेको बताए । सहजीकरण समितिका सदस्य टंकप्रसाद पराजुलीले अध्यक्षमा दलहरुबीच इगो बढेपनि विद्यालयमा राजनीति नगरौं भन्ने कुरा पनि उठेको कुरा नमिलेपनि लोकतान्त्रिक पद्वतिबाट प्रतिनिधि चयन गर्न सकिने बताए ।
सहजीकरण समितिका अर्का सदस्य अर्का सदस्य विष्णु ढकालले जिम्मेवारी अनुसार सरोकारवाला पक्षहरुसंग पटक–पटक बैठक बसी छलफल गरिए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् ।
एमालेले कान्ति माविको व्यवस्थापन समितिको अध्यक्षमा आफुलाई दिएर वाणिज्य क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष कांगे्रसलाई दिने गरी मिल्न प्रस्ताव गरेको छलफलमा सहभागी एक प्रतिनिधिले नाम नखुलाउने सर्तमा बताएका छन् । केही दिन अघि वाणिज्य क्याम्पसको समिति गठन हुंदा कांगे्रसका शुरेन्द्र श्रेष्ठ अध्यक्ष भएका थिए । श्रेष्ठ अध्यक्ष प्रक्रिया अनुसार भएकाले वाणिज्यसंग कान्ति साट्न कांगे्रस तयार नभएकोसमेत बुझीएको छ ।
विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकको सहभागितामा ४ जना छनोट गर्नुपर्ने प्रावधान छ । चारजना निर्वाचित भैसकेपछि प्रअ पदने सदस्यसचिव र वडाध्यक्ष वा वडाले तोकेको एक जना जनप्रतिनिधि समितिमा ल्याउनु पर्ने व्यवस्था छ । त्यस्तै एक जना शिक्षक प्रतिनिधि, एक जना महिला र एक जना पुरुष प्रतिनिधि छनोट गरी विद्यालय व्यवस्थापन समिति नौ जनाको हुने व्यवस्था छ ।






















