बाढीले कपिलवस्तुका ३ वटा वस्ती जोखिममा, स्थानीय रातभर जाग्रम

  कपिलवस्तु, असार २९ गते । कपिलवस्तुको बाणगंगा नदी किनारका ३ वटा वस्ती जोखिममा परेका छन् । ति वस्तीमा बस्ने मानिसहरु एक महिनादेखि रातभर जाग्राम बस्ने गरेका छन् । नदीमा बाढी आउने डरेले महराजगंज नगरपालिका– १० हदौना र यशोधरा गाउंपालिका– ८ खोरिया कपिलवस्तु नगरपालिका १० अकबरपुर, गाउंका मानिसहरू रातभर जाग्राम बस्ने गरेका हुन् । वस्तीमा नदी पस्ने त्रासले उनीहरु त्रासमा छन् ।

कति खेर वस्तीमा बाढी पस्ने हो भन्ने डरले खोलो हेरेर रातभर जाग्राम बस्ने गरेका हुन् । महाराजगञ्जको हदौना कपिलवस्तु नगरपालिकाको सौराहाको अकबरपुर, यशोधरा गाउंपालिकाको खोरिया गाउंका मानिस वर्षात शुरु भएपछि समस्यामा परेका छन् । गाउंको सुरक्षका लागि बनाइएका पक्की तटबन्ध नदीले भत्काएपछि वस्तीमा बाढी पस्ने खतरा बढेको छ ।

बाढीका कारण नदी आसपाससका वस्तीहरु निकै जोखिममा रहेको महाराजगंज नगरपालिका वडा नम्बर १० अध्यक्ष शैलेन्द्र चौधरीले बताए ।
बाणगंगा नदीले हदौना बासिन्दालाई समेत कटान र डुबानले सताएको छ । हर्दौनाका रमेशबहादुर सिंहले बाढी आउंदा कसरी ज्यान बचाउने होला भन्ने चिन्ताले सताउने गरेको गुनासो गरे । साढे चार सय घर परिवार नदीको चपेटामा परेका छन्। गाउंको वस्ती र केही मिटर मात्र बांकी छ । २ घर नदीले बगाएको हर्दौनाका स्थानीय रमेशबहादुर सिंहले बताए ।

हर्दौनाका निरहु चमार र शिवपुजन चमारको घरमा नदी पसेपछि उनीहरुलाई सशस्त्र प्रहरीको सहयोगमा अन्तै सारिएको छ । अहिले उक्त गाउंमा ६० घर जोखिममा परेका छन् । नदीमा आएको बाढीका कारण रातीमा सुत्न नपाईएको र रातभर पालैपालो गरी पहेदार गर्नुपरेको स्थानीय शिवपुजनले गुनासो छ ।

नदी कटानले हर्दौनाको ९० बिघा भन्दा बढी खेत नदीले बगाएको छ । टबन्ध नभएको दक्षिणतर्फ नदीले धमाधम कटान गर्न थालेको छ । स्थानीयले तटबन्धनको माग गर्दै आएका छन् । खोरिया गाउंमा ढाई सय जति परिवारको बसोबास छ। कजरहवा र सिंग्रहा गाउंका दुई सय बढी परिवारको तीन सय बढी बिघा जमिन नदीले बगाएको छ ।

नदी कटान र डुवानका कारण तीन पटक सिंग्रहा गाउंमा सर्नु परेको कुमार यादवले गुनासो गरेका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर १२ अकबरपुरका सुर्य गिरीले नदीको डरले बर्षो देखिको हाम्रो पीडा कसैले नसुनेको बताउनुभयो । अकबरपुर गाउंकोे सय बिघा बढी खेतीयोग्य जमिन नदीले बगाएको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले वर्षाका कारण आउने विपद्को विषयमा योजना बनाएको बताए । नदी आसपासमा रहेका वस्तीमा वस्नेहरु लाई सचेत रहन आग्रह गरिएको छ ।