एमाले नेता विष्णु पौडेल पांचौ पटक अर्थमन्त्री


बुटवल, असार ३१ गते । रुपन्देही २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यष विष्णुप्रसाद पौडेल नेपाल सरकारको पुनः उपप्रधान अर्थमन्त्री बनेका छन् । यस अघिपनि अर्थमन्त्री भैसकेका नेता पौडेल एमाले र कांगे्रसको सत्ता समिकरणमा पांचौपटक अर्थमन्त्री बन्न सफल भएका छन् ।

पौडेल पहिलो पटक २०७२ कार्तिक १९ गतेदेखि २०७३ साउन १९ गतेसम्म अर्थमन्त्री बनेका थिए । दोश्रो पटक २०७७ असोज २८ गतेदेखि २०७८ बैशाख ३१ गतेसम्म र तेश्रोपटक २०७८ जेठ १ गतेदेखि असार २९ गतेसम्म उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । २०७९ पुष ११ गतेदेखि फागुन १५ गतेसम्म चौथो पटक उपप्रधान तथा अर्थमन्त्री बनेका पौडेल २०८१ असार ३१ गते पांचौपटक उपप्रधान तथा अर्थमन्त्री नियुक्त भएका हुन् । पहिलो पटक २०५३ चैत्र १२ देखि २०५४ असोज १० गतेसम्म युवा खेलकुद तथा संस्कृतिमन्त्री बनेका पौडल अहिलेसहित आठौं पटक मन्त्री बने ।
यसअघि २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म जलश्रोत मन्त्री र २०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म रक्षामन्त्री बनेका थिए । २०५१ सालदेखि संसदीय यात्रा सुरु गरेका नेता पौडेल ३० वर्षको अवधीमा प्रतिनिधिसभा सदस्य र संविधानसभा सदस्य गरी पांच पटक निर्वाचित हुंदा एक पटक मात्रै पराजित भएका थिए ।

पहिलो पटक २०५१ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट, २०६४ साल र ७० सालको संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ तथा २०७४ साल र २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । २०५६ सालमा रुपन्देही क्षेत्र नम्बर ३ बाट पौडेल पराजीत भएका थिए ।
एमाले नेता विष्णुप्रसाद पौडेल २०५६ सालको संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नमबर ३ बाट कांग्रेस नेता स्व. शूर्यप्रसाद प्रधानसंग पराजीत भएका थिए ।