बुटवल बहुमुखी क्याम्पसमा बिएएलएलबी पढाई हुने


बुटवल, साउन ४ गते । बुटवल बहुमुखी क्याम्पसमा यस वर्षदेखि बिएएलएलबी पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयले तयार गरेको नयां पाठ्यक्रम बिएएलएलबी बुटवल बहुमुखी क्याम्पसमा यही शैक्षिक सत्रदेखि सञ्चालनका लागि तयारी थालिएको छ ।

पांच वर्षे बिएएलएलबी जुनसुकै विषयमा प्लस टु पुरा गरेका विद्यार्थीले पढ्न पाउने छन् । यो त्रिभुवन विश्वविद्यालयले तयार गरेको स्वायत्त कार्यक्रम हो । स्वायत्त कार्यक्रम भएकाले अरु स्वायत्त कार्यक्रम सरहको शुल्क लाग्ने कानुन संकायका कार्यक्रम संयोजक जीवनारायण अधिकारीले जानकारी गराए ।बुटवल बहुमुखी क्याम्पसमा सञ्चालन गरेका अरु स्वायत्त कार्यक्रमको पुरा अवधिको ५ लाख रुपंया शुल्क निर्धारण गरिएको छ । यो कार्यक्रम सञ्चालनका लागि त्रिभूवन विश्वविद्यालयले निर्णय गरेर कति विद्यार्थी पढाउने भन्ने विषयमा कोटा निर्धारण गर्दछ ।

नेपाल ल क्याम्पसका प्राध्यापक तथा सम्भाव्यता अध्ययन समितिका सदस्य केशरमणी अर्यालका अनुसार बुटवल बहुमुखी क्याम्पसमा २ वटा सेक्सन सञ्चालन गर्न सकिने छ । एउटा सेक्सनमा ३५ जना विद्यार्थीले पढ्न सक्ने छन् । अहिले बुटवल बहुमुखी क्याम्पसमा कानुन संकायतर्फ स्नातक पछिको एलएलबी कार्यक्रम सञ्चालनमा छ । बुटवल बहुमुखी क्याम्पसमा बिएएलएलबी कार्यक्रम सञ्चालन गर्न राम्रो सम्भावना रहेको क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले बताए ।

यस विषयमा शुक्रबार त्रिभुवन विश्वविद्यालयबाट आएको सम्भाव्यता अध्ययन टोलीसंग क्याम्पसमा अन्तरसंवाद गरिएको थियो । अन्सरसम्वादमा बोल्दै त्रिभूवन विश्व विद्यालयका सहायक डिन डा. विनोद बस्यालले यो कार्यक्रम सञ्चालनका लागि आवश्यक कक्षा–कोठा, प्रयाप्त कानुनका जनशक्ति, ल्याव (डमी इजलास), लाईवेरी, कम्प्युटर ल्याव लगायतका त्रि.वि.ले निर्धारण गरेका सर्तहरु पुरा गर्नुपर्ने बताए । कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएकाले विषय एकदमै राम्रो छ उनले भने । यो कार्यक्रम अहिले त्रिवि अन्तरगतका नेपाल ल क्याम्पस र पृथ्वीनारायण क्याम्पस पोखरामा सञ्चालन गरिएको छ ।
बुटवल आर्थिक राजधानी भएको र उच्च अदालत पनि बुटवलमा रहेकाले आवश्यक जनशक्तिको परिपूर्तिको लागि पनि यो कार्यक्रम आवश्यक रहेको प्राध्यापक नुरजंग केसीले बताए ।
नेपाल बार काउन्सिलका काउन्सिलर अधिवक्ता बाबुराम पाण्डेले यो विषय यस क्षेत्रको लागि अति आवश्यक भएकाले जसरीपनि कार्यक्रम सञ्चालन गनुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्याम्पसका पूर्वक्याम्पस प्रमुख, विभागीय प्रमुख,स्ववियु सभापति लगायत प्राध्यापकहरुको सहभागिता रहेको थियो ।






















