बंगलादेशमा चर्कियो आन्दोलन, ९० जनाको मृत्युु

काठमाण्डौ, साउन २१ गते ।  बंगलादेशमा एक प्रहरी चौकिमाथि आक्रमण हुँदा १३ जना प्रहरीसहित ९० जनाको ज्यान गएको छ ।सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार सो घटना भएको बीबीसीले जनाएको छ ।

बंगलादेशको प्रहरी मुख्यालका अनुसार सिराजगञ्जको एक प्रहरी चौकीमा आक्रमण भएको हो । आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।
स्थिती नियन्त्रणमा लिन सरकारले साँझ छ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ।

राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ।फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको छ ।प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।

प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ। आइतवारको प्रदर्शनका क्रममा करिब २०० जना मानिसहरू घाइते भएको विवरण आएका छन्।
राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका छन्। सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्।

सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।

केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा उत्रिएका हुन्।

यसअघिको प्रदर्शनका क्रममा २०० जना भन्दा धेरैको ज्यान गएको थियो। विद्यार्थीको प्रदर्शन नियन्त्रणका लागि पछिल्ला केही साता मात्रै करिब १० हजार विपक्षी दलका समर्थक र विद्यार्थीलाई नियन्त्रणका लिइएको थियो। आइतवारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान समेत गरेका थिए।

प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले पनि आइतवार नै देशैभर ¥यालीको आयोजना गरेको थियो।

दुवै पक्षको प्रदर्शनका कारण बंगलादेशमा आगामी केही दिनहरू तनावपूर्ण रहने ठानिएको छ। विपक्षी दलहरूको बहिष्कारकाबीच गत जनवरीमा भएको निर्वाचनबाट हसिना चौथो पटक देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिइरहेका छन्।

विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकिरहेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्। शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्। पछिल्लो कार्यकाल सकिँदा हसिना ८१ वर्षकी हुने छिन्।