अर्घाखांचीका अग्नी पीडितलाई १० लाख हस्तान्तरण

सपना खनाल
अर्घाखाँची, साउन २२ गते ।अर्घाखाँचीको भूमिकास्थान–३ र ४ धारापानीका अग्निपीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ  ।
वडास्तरीय अग्नीपीडित सहयोग समितिको कोषमा विभिन्न सहयोगीदाताबाट संकलन भएको १० लाख १२ हजार ६ सय ८८ रुपैयाँ रकम सोमबार एक कार्यक्रमबीच २९ घर परिवारलाई भूमिकास्थान नगरप्रमुख झविलाल थापाद्धारा गरिएको हो ।

उक्त सहयोग रकममध्ये आगलागीबाट पूर्णरुपमा घर गुमाएका कृष्णा ओलीलाई ६७ हजार ५ सय, मनिराम भुसाललाई ६६ हजार, बसन्ता मल्ललाई ६१ हजार ५ सय, देवी आलेलाई ६१ हजार ५ सय, दिउरी भुसाल, ऋषीराम भुसाल, रामजी भुसाल, झविलाल भुसाललाई जनही ६० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

आगलागीबाट वाल सहितको थारो र १ वटा पल्सर मोटरसाइकल गुमाउनुभएका यज्ञ प्रसाद भुसाललाई ५० हजार, गंगबहादुर विकलाई ४५ हजार, नरिश्वर भुसाललाई ३९ हजार, तिलक भुसाललाई ३५ हजार प्रदान गरिएको छ । यस्तै आगलागीबाट थारो गुमाउने बिष्णु घर्तीमगर, टिका भुसाल, रामु भुसाल, राजु भुसाल, डोल प्रसाद भुसाल र सिता वि.कलाई क्रमश ३० हजारका दरले राहत प्राप्त गरिएको छ । त्यस्तै पुष्पा भुसाललाई २७ हजार, दुर्गा वि.क. २० हजार, शान्ता परियार १९ हजार ५ सय, र हुमकला भुसाललाई १७ हजार ५ सय रुपैंया हस्तान्तरण गरिएको छ ।
पदमप्रसाद भुसाल, गंगा बहादुर भुसाल, शोभाखर बन्जाडे र भरत बन्जाडेलाई जनहि १५ हजार बितरण गरिएको छ । त्यस्तै भुपलाल भुसाललाई ७ हजार, शिवलाल भुसाल र पूर्णबहादुर विकलाई ५÷५ हजार रुपैंया हस्तान्तरण गरिएको वडाध्यक्ष एवम् राहत संकलन, बितरण समितिका संयोजक कृष्णप्रसाद बन्जाडेले जानकारी दिए ।

राहत बितरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बिपद्को सामना गर्नु भन्दा घटना हुनै नदिने गरी पूर्व तयारी गर्नु आजको आवस्यकता रहेको बताए । उनले त्यसका लागि आगामी हिउँदको याममा सामुदायिक वन र सरोकारवालासंग समन्वय गरी वनपाखामा रहेका पात, पतिङ्गर, घुस्हन र झाडी सोहोर्ने योजनामा नगरपालिका रहेको नगर प्रमुख थापाले जानकारी गराए ।

सफाई गर्दा निस्कने घुस्हनलाई डम्पिङ्ग गरि मल बनाउने र उक्त मल पालिकाको बाँझो जग्गामा खेती गर्ने अभियानमा प्रयोग गर्ने नगर प्रमुख थापाले योजना सुनाए । गत चैत र बैशाख महिनामा भएको आगलागी र डढेलोमा भूमिकास्थान नगरपालिकाका विभिन्न वडामा २१ घर, २० गोठ जलेर नष्ट हुनुका साथै एक ४ बर्षिया बालिकाको समेत ज्यान गएको स्मरण गराउँदै उने बिपत्तिमा सहयोग गर्ने सबैलाई धन्यावाद दिए ।

वडाध्यक्ष कृष्णप्रसाद बन्जाडेको अध्यक्षता, स्थानीय शिक्षक विरेन्द्र पौडेलको स्वागत मन्तव्य र वडा सचिव देवराज श्रेष्ठको संचालनमा सम्पन्न राहत बितरण तथा कोषको सार्वजनिक सुनुवाई कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी. र राहत संकलन समितिका सदस्य नारायणप्रसाद भुसालले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै राजमो नेता सागर केसी र राहत संकल समितिका सदस्य नारायण भुसालले आर्थिक बर्षमा अर्घाखाँचीकै ठुलो बिपद्बाट भूमिकास्थानले सामना गर्नुपरेको स्मरण गर्दै बिपत्तिमा साथ दिने सबैलाई धन्यावाद दिए ।
समितिको कोषमा देश तथा विदेशबाट संकलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै सहयोग संकलन कार्यसमेत सकिएको वडाअध्यक्ष बन्जाडेको भनाइ छ ।

राहत बितरण कार्यक्रममा स्थानीय राजनीतिक दल, प्रहरी, पत्रकार, सामाजिक अगुवा, अग्नी पीडित र उनीहरुका आफन्तहरुको सहभागिता रहेको थियो ।
गत बैशाख ८ गते शनिबार दिउँसो करिब २ बजे जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा धारपानीका २९ घर परिवार रुपमा प्रभावित भएका थिए ।