नेतृत्वमा आकांक्षीले दाबी गर्न थाले

 

 

बुटवल/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुको अधिवेशनका लागि तयारी भइरहेको छ । सोही क्रममा रुपन्देहीमा पनि नगर अधिवेशनको तयारी थालिएको छ ।
भदौ २० गते जिल्लाका १०२ वटा वडाको अधिवेशन सम्पन्न गरेको काँग्रेस पालिका अधिवेशनमा जुटेको हो । आगामी असोज ९ गतेका लागि पालिका र क्षेत्रीय अधिवेशनको मिति तय गरिएको छ ।
रुपन्देहीको १६ वटा स्थानीय तहमा असोज ९ गते अधिवेशन हुनेछ । सोही क्रममा बुटवल उपमहानगरपालिकासहित जिल्लाका १० नगरपालिकामा पनि अधिवेशनको तयारी तीव्र पारिएको छ भने नेतृत्वका आकांक्षीले पनि दाबी गर्न थालेका छन् ।
बुटवल उपमहानगर समिति निर्वाचन जिल्लामा सर्वाधिक चासो बनेको छ । नेतृत्वका लागि आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिसकेका छन् । एक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका उनीहरुले प्यानल निर्माण गर्ने र प्रचार प्रसारमा सक्रियता बढाउने जनाएका छन् ।
जिल्लामा उम्मेदवार र मतदाता स्पष्ट रुपमा दुई गुटमा विभाजित भएका छन् । कांग्रेसमा नयाँ नेतृत्वका लागि केन्द्रदेखि वडासम्म दुई गुटमा उम्मेदवारी, भेला, बैठक र चुनावी प्रचार गर्ने काम भएको छ । यो अवस्था रुपन्देहीमा पनि कायम छ । जिल्लाका हरेक नगर तथा गाउँस्तरमा दुई गुटमा विभाजित कांग्रेसमा पार्टी नेतृत्व कब्जाको रणनीतिमा काम भैरहेको छ ।
यसै क्रममा बुटवल उपमहानगरपालिकासगै जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी, सैनामैना र देवदह नगरपालिकाका नगर सभापतिका आकांक्षीहरु चुनावी प्रचारमा लागेका छन् । अहिलेसम्म अधिकारीक उम्मेदवारको छिनोफानो लागि नसकेको भए पनि आफ्नो दावी प्रस्तुत गरेका तथा चाहना राखेकाहरुले आफ्नो चुनावी दौडाहाका क्रममा भेटघाट र छलफल गरेका छन् ।
सभापति आकांक्षीहरुले खुल्दै भित्री र बाह्य रणनीति बनाउने अभियानमा छन् । वडा अधिवेशन सकिएसँगै नगर सभापतिसहितको नेतृत्व दावी र भेटघाट तथा छलफलको क्रम बाक्लो बनेको हो । आंकाक्षीहरुको अनुहार र दावीको अवस्था हेर्दा रुपन्देही कांग्रेस स्पष्ट रुपमा दुई खेमामा विभाजित भएको छ ।
रुपन्देहीका नगरहरुमध्ये सबैभन्दा चर्चा बुटवलको नगर सभापतिको रहेको छ । बुटवल नगरको सभापति हुने व्यक्ति नेपाली कांग्रेसको जिल्ला नै होल्ड गर्ने व्यक्तिका रुपमा लिने गरिन्छ भने आगामी स्थानीय निर्वाचनमा नगर प्रमुखको दावेदार मान्ने गरिएको छ ।
बुटवलमा नगर सभापतिका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका दुई गुटका आकांक्षीहरु आधा दर्जनको संख्यामा चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् । उनीहरु अहिले व्यक्तिगत रुपमा प्रचार प्रसारमा लागेका छन् । चुनावी प्रतिस्पर्धामा नयाँ तथा युवा पंक्तिले नेतृत्वको दावी गरेका कारण यस पटकको कांग्रेसको नेतृत्व चयन रोचक बन्ने अनुमान पनि गरिएको छ ।
बुटवल उपमहानगरपालिका
बुटवल उपमहानगरपालिकामा सभापतिका आंकाक्षीको संख्या करिब एक दर्जन रहेको छ । यहाँ पनि देउवा र पौडेल पक्षबीच दुई प्यानल बन्ने निश्चित छ । केन्द्रमा देउवा र पौडेलबीचको विभाजन रुपन्देहीमा तत्कालीन सांसद स्व. सूर्यप्रसाद प्रधान समुह र वर्तमान गृहमन्त्री बालकृष्ण खाँण समूहमा देखा पर्दै आएको छ । प्रधानको मृत्युपछि सो समुहको नेतृत्व गर्ने नेता कोही देखिएको छैन तर समुह बलियोे अवस्थामा छ । कांग्रेसका हरेक गतिविधि तथा शक्ति संघर्ष गृहमन्त्री खाँण र खाँण विपक्षबीच नै हुने गर्दछ ।
बुटवल नगर सभापतिको निर्वाचन पनि खाँण र खाँण विरोधिकावीच हुने देखिएको छ । दुई प्यानल बनेर नै पार्टी पंक्ति परिचालित भएको छ । यस पटकदेखि क्रियाशील सदस्यबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरुले मात्र मतदान गर्ने भएका कारण वडा अधिवेशनकै समयमा आफ्ना मान्छेलाई ल्याउने कसरत दुबै पक्षले गरिसकेका छन् । क्षेत्रीय प्रतिनिधि छनौटमा बुटवलमा दुबै पक्ष आफू बहुमतमा रहेको दावी गरेको भए पनि पार्टीभित्रका स्वतन्त्र छविका व्यक्तिहरु यस पटक ५०–५० को स्थितिमा रहेको बताउँछन् । बुटवलका १९ वडाबाट कुल ७ सय ५५ क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।
बुटवलमा उम्मेदवारी दावेदारीमा वर्तमान नगर सभापति खेलराज पाण्डे, अघिल्लो निर्वाचनमा उनका प्रतिस्पर्धी युवा प्रजापाल गिरी, वर्तमान उपसभापति विमलराज भट्टराई, नेविसंघ रूपन्देहीका पूर्व केन्द्रीय उपसभापति प्रकाश राना नै अग्रभागमा रहेका छन् । नगर सभापतिको उमेदवार बन्न खोजेका आकांक्षीहरूले बुटवलमा कांग्रेसलाई बलियो बनाउने र आगामी स्थानिय निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने बताउने गरेका छन् ।
वर्तमान सभापति पाण्डेले दुई कार्यकाल नगरको नेतृत्व गरिसकेको हुदाँ जिल्ला नेतृत्वमा जाने सोचमा देखिँदै आएका थिए तर त्यो सम्भावना नदखिएपछि पछिल्ला दिनमा उनी पौडेल समूहबाट फेरि पनि नगर मै उठ्ने आंकाक्षा व्यक्त गरेका छन् । यीबाहेक सचिव ज्योति भण्डारी, क्षेत्रीय सचिव जोगबहादुर खत्री, महिला रिता केसी पनि आकांक्षी देखिएका छन्, तर उनीहरुको दावी झिनो छ ।


अहिलेसम्म दुबै पक्षले आधिकारिक उम्मेदवार तय गरेका छैनन । पौडेल पक्षबाट हालका सभापति खेलराज पाण्डे उम्मेदवार नबने उपसभापति विमलराज भट्टराई र प्रकाश रानामध्ये एक जना प्रतिस्पर्धी हुने छन् । भट्टराई आफू दुई कार्यकाल नगर उपसभापति भएर काम गरिसकेकाले यो पटक सभापतिको आकांक्षी हुनु स्वभाविक भएको बताउँदै आएका छन् भने रानाले विद्यार्थीको केन्द्रीय नेतृत्व सम्हालेको र जातीय हिसाबले पनि एउटा ठूलो समूहको प्रतिनिधित्व गर्नको लागि आफूले दावी नछाड्ने बताएका छन् । २ कार्यकाल कांग्रेस बुटवल नगर उपसभापति भएका भट्टराई भन्छन्–‘२०६७ सालदेखि आजसम्म नगर उपसभापति छु । त्यसैले म स्वभाविक रुपमा नगर सभापतिको उमेदवार हुँ । सबै साथीहरुको मलाई साथ सहयोग पनि छ ।’


यता प्रजापाल गिरीले आफू हाल कुनै पक्षको मात्र नभएर बुटवल नगरमा रोकिएको काँग्रेसको गति र जाम भएको नेतृत्वको अवस्थालाई फुकाउन सबैको साथमा उम्मेदवारी घोषणा गरेको बताउँछन् । अघिल्लो निर्वाचनमा खाँण समूहको समर्थनमा उम्मेदवार बनेका गिरी यस पटक पनि सोही समूहबाटै उम्मेदवार बन्ने निश्चित भएको धेरैको बुझाइ छ ।
विद्यार्थी राजनीतिबाट आएका प्रजापाल गिरि कांग्रेस बुटवलका पूर्वनगर सचिव हुन् । गिरिले बुटवलमा कांग्रेसको संगठन कमजोर देखिएको भन्दै त्यसलाई सुधार्ने योजना आफ्नो रहेको बताउछन् । ‘अघिल्लो स्थानिय चुनावमा कांग्रेसले बुटवलमा राम्रो परिणाम ल्याउन सकेन । नगरमा नेतृत्व जाम भएर बसेको अवस्था छ । त्यसको कारण कांग्रेसको संगठन नै कमजोर भएको छ, त्यसकारण नयाँ आयामबाट संगठनलाई अगाडि बढाउनुपर्छ र नेतृत्वमा नयाँ पुस्ता आउनुपछ ।’–गिरि भन्छन् ।


खाँण निकट मानिने महिला नेतृ रीता केसीले पनि दावी गरेको हुँदा गिरीलाई अप्ठ्यारो परेको छ । केसीले आफूलाई खाँण समूहबाट मात्र नभनेर बुटवलमा पहिलो पटक महिलाबाट उम्मेदवारी दिन लागेको भन्दै सहानुभूतिको मत बटुल्ने प्रयासमा छन् ।
सभापतिसँगै बुटवलमा अन्य पदाधिकारीहरुको प्रतिस्पर्धा र चासो पनि रहेको छ । दुई गुटको सभापतिको टुङ्गो नलागेका कारण अन्य पदाधिकारी आंकाक्षीहरुको छिनोफानो हुन सकेको छैन तर दावी प्रस्तुत गर्ने र प्रचार गर्ने काम भने रोकिएको छैन । अहिलेसम्म उपसभापति र सचिवमा दावी गर्नेहरु मात्र देखिएका छन् ।
तिलोत्तमा नगरपालिका
गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा नगर सभापतिको निर्वाचन निकै नै पेचिलो बन्ने देखिएको छ । तिलोत्तमाको निर्वाचन खाँणको प्रतिष्ठासँग पनि जोडिएको छ । सो नगरमा तीन जनाले सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् । तिलोत्तमामा कुल ३ सय ९२ क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।
वडा तहको अधिवेशन सकिएलगत्तै निर्वाचनको सरगर्मी बढेको हो । पालिकाको निर्वाचनको लागि तिलोत्तमा नगर सभापतिको लागि खाँण समूहलाई नगरपालिकाका निर्वाचित वडा अध्यक्षसमेत रहेका युवा नारायण न्यौपानेले उम्मेद्वारी घोषणा गरेर ठाडो चुनौति दिएका छन् । त्यसैगरी वर्तमान सभापति हरिलाल पाण्डेय र अर्का हरिप्रसाद तिवारीले उम्मेद्वारी दावी गरेका छन् ।


न्यौपानेले पौडेल समूहमा हुन् भने उनलाई भरत शाहको समर्थन रहेको जानकारहरु बताउँछन् । यस्तै नेता हरिप्रसाद तिवारीले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी पनि पौड्यल समूहकै नेता मानिन्छन् । यस्तै वर्तमान सभापति हरिलाल पाण्डेयले सभापति पद पुनः दोहो¥याउने घोषाण गरेका छन् । उनलाई खाँणको समर्थन रहेको कार्यकर्ताहरु बताउँछन् ।
देवदह नगरपालिका
देवदह नगरपािलका सभापतिको लागि दुई जनाको चर्चा रहेको छ । पौडेल पक्षबाट गुनाखर भुर्तेल र देउवा पक्षबाट झविन्द्र पाण्डेय रहेका छन् । यस्तै उपसभापतिमा भने धेरैको चर्चा रहेको छ । प्रमोद खनाल, अमर लामिछाने, यमलाल भट्टराईलगायतले दावी गरेका छन् । सभापतिमा कडा प्रतिस्पर्धा हुने काँग्रेस कार्यकर्ताहरु बताउँछन् । देवदहमा कुल २ सय ४ क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।
सिद्धार्थनगर नगरपालिका


सिद्धार्थनगर नगरपालिकामा पनि पौडेल पक्ष र देउवा पक्षबाट उम्मेद्वारी पर्ने निश्चित भएको छ । सभापति पदका उम्मेदवारहरुले आआफ्नो ढंगले प्रचार शुरु गरेका छन् । स्रोतका अनुसार पौडेल पक्षबाट सन्जीव शर्मा र देउवा पक्षबाट कोसिस खड्का चुनावी मैदानमा जाने तयारी गरेका छन् । दुवैले आफूले जित्ने दावी गरेका छन् ।
सैनामैना नगरपालिका
सैनामैनामा पनि सभापति पदको लागि तीन जनाको नाम चर्चामा रहेको छ । सभापतिका लागि रणबहादुर खनाल, कृष्ण पोखरेल र नारायण खनाल उम्मेदवारी दिने चर्चा रहेको छ । रणबहादुर देउवा प्यालनमा मानिन्छन् । पोखरेल पौडेल प्यानलमा मानिन्छन् भने नारायण खनालले आफू कुनै प्यानलमा नरहेको दावी गरेका छन् । सैनामैनामा कुल २ सय ३४ क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।
लुम्बिनी सांस्कृतक नगरपालिका
लुम्बिनी सांस्कृतिक नगरपालिका हालका सभापति मोहम्द सईत खाँ नै सभापतिमा दोहोरिने चर्चा रहेको छ । यो नगरमा नेतृत्व सर्वसम्मत हुने अवस्था रहेको छ । त्यहाँ सभापतिमा अन्यको चर्चा अहिलेसम्म नआएको स्थानीय कार्यकर्ता बताउँछन् ।
यस पटक रुपन्देहीमा नयाँ समिकरण देखा पर्ने सम्भावना रहेको छ । स्रोतका अनुसार रुपन्देहीमा बालकृष्ण खाँणको खेमामा सधै रहँदै आएका प्रभावशाली नेता भरत कुमार शाहले यस पटक जिल्लामा आफूलाई सम्मानजनक व्यवहार नगरिए खेमा परिवर्तन गर्ने चेतावनी दिएको भनाइ छ । जिल्लामा आफ्नो हैसियत देखाउने मुडमा शाह पुगेको बताइन्छ ।
भरत शाहको जिल्लाको दक्षिण अझ ५ नं. क्षेत्रमा विशेष प्रभाव रहेको छ । त्यसैगरी अन्य नगरमा पनि खाँण समूहबाट पेलिएको महसुस गरेका कार्यकर्ता शाहको पछि लाग्ने देखिएको छ । नगर सभापति निर्वाचनमा मुख्यतः तिलोत्तमा, सैनामैना, लुम्बिनी र सिद्धार्थ नगरमा शाहको भूमिका महत्वपूर्ण मात्र नभएर निर्णायक रहने काँग्रेस कार्यकर्ताहरुको भनाइ छ । केन्द्रमा देउवालाई समर्थन गरे पनि जिल्लामा यस पटक भरत शाह र बालकृष्ण खाँणमा विभाजन आउने अनुमान गरिएको छ । यसको फाइदा जिल्लामा पौडेल समूहले लिने प्रयासमा छ ।