अबैध समानबाट नवलपरासीमा राजश्व संकलन


बुटवल, भदौ ५ गते । सीमा नाकाबाट हुने अबैध समान नवलपरासीमा प्रहरीले बरामद गरेको छ । अवैध सामान बरामदबाट सशस्त्र प्रहरीले एक महिनाको अवधिमा १ करोड १२ लाख बढी राजस्व संकलन गरेको छ । नवलपरासीका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नं. २६ गण र मातहतका युनिटले १२ लाख बराबरको सामान बरामद गरी भन्सार कार्यालय पठाएको गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी गराए ।

बरामद सामानमा सबैभन्दा बढी ५१ लाख ९५ हजार बराबरका चाइनिज लसुन, चिनी, ब्याट्री, मोबाइल, मोबाइलमा प्रयोग हुने टेम्पर, हार्डवेयरलगायतका छन् । त्यसैगरी अवैध सामान ओसारपसारमा संलग्न मिनी ट्रक, बोलेरो, मोटरसाइकल नियन्त्रणमा लिई त्यसबाट ४३ लाख ६० हजार जम्मा भएको छ । त्यस्तै ४ लाख ६ हजार बराबरका बोइलर कुखुरा, माछा र ५० हजार बराबरको नदीजन्य पदार्थ ओसारपसारमा संलग्न सवारीसाधनबाट राजस्व जम्मा भएको सशस्त्र प्रहरीले जनाएको छ ।
कवलपरासीको भूजहवा, महेशपुर, पाचपेडा, बसैया, गेर्मी, अमानिगञ्ज, रामनगरलगायतका नाकाबाट त्यस्तो ओसारपसार हुने गरेको बताइएको छ । सबैभन्दा बढी भारतबाट नेपालतर्फ खसी बोका, राँगा र चामलको तस्करी हुने गरेको छ ।
नवलपरासीका सीमा नाकाबाट नेपाल र भारत दुवै देशतर्फ अवैध सामान ओसारपसार हुने गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।























