नक्कली छोरी बनेर घरजग्गा हडप्ने प्रयास असफल

भैरहवा, भदौ ६ गते । रुपन्देहीको भैरहवामा घरजग्गा तथा सम्पति हडप्न नक्कली छोरी बनेको खुलसा भएको छ । दुईजना भारतीय नागरिकका छोरीले भैरहवामा नक्कली छोरी बनेर करोडौं घरजग्गा हड्प्ने प्रयास गरेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का सुखु मल्लाहको नाम राखी श्रीमानबाट सनाखत बनाएर नागरिकता लिएपछि सम्पत्ती हत्याउन खोजेको पाइएको हो । निसन्तान सुखुको मृत्युपछि अदालतको फैसलाबाट उनको सम्पत्ती दाई फौदार मल्लाहका छोराहरु लालजित र सन्त मल्लाहको नाममा गएको थियो । तर, जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा फरक ठाउँमा सर्जमिन गराई भारतीय नागरिक बदल मल्लाहका छोरीहरु मालती मल्लाहीन र रिखिदेवी मल्लाह अग्रवालले सम्पत्ती हडप्न खोजेको पुष्टि भएको छ ।

सिद्धार्थनगर–६ का लालजित र सन्त मल्लाहका बुवाहरु दुई भाई हुन् । लालजित र सन्तका बुवा फौदार हुन भने काका सुखु मल्लाह । फौदारका दुई छोरा र ५ छोरी छन् । तर, काका सुखु र काकी कवुतरीका कोखबाट सन्तान भएनन् । उनीहरुका बुवा फौदारको २०७७ जेठ ८ र आमा झिनाको भने १० वर्ष अघि नै मृत्यु भइसकेको छ । काका सुखुको २०७८ असार १७ र काकी कपुतरी मल्लाहको २०७७ माघ १० मृत्यु भएको थियो ।
सन्तान नभएकाले सुखु र कपुतरीको सहारा लालजित र सन्त बनेका थिए । ‘दुखविरामी हुँदा, औषधि उपचारदेखि मृत्युपछिका सम्पूर्ण संस्कार हामी दुईभाईले गरेका हौं’, बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सन्तले भने, ‘बुवाआमा र काकाकाकी बाचुन्जेल कसैको दावी थिएन । तर मृत्युपछि एकाएक मालती र रिखीदेवी छोरी बनेर सम्पत्री खान आए ।’ बुवाआमा र काका–काकीको मृत्यु पछि लालजित र सन्तले निसन्तान भएको भन्दै काकाको नाममा रहेको जायजेथा आफूहरुका नाममा लिनका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरे । तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले २०७८ कार्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जमिन लालजित र सन्तको नाममा जाने फैसला गर्यो । अंशबण्डा गरेर उनीहरुले सबै जायजेथा दुईभाइका नाममा गराए ।

२०७८ फागुन १० गते हाम्रो घरमा अंश मुद्दा परेको भन्दै जिल्ला अदालत, रुपन्देहीले म्याद पठायो । म्याद बुझेर हामी अदालत गयौं । यसपछि बल्ल थाहा भयो, काका सुखुको नक्कली छोरी बनेर अंशका लागि सिद्धार्थनगर–८ की रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका–३ की मालती मल्लाहले मुद्दा हालेको’, सन्तले भने, ‘जवकी काका सुखुको सन्तानै जन्मिएका थिएनन् । एकाएक अर्कै दुई महिलाले अदालतमा अंश मुद्दा दायर गरेपछि हामी अन्यायमा पर्यौं र अदालत र प्रशासन गयौ उनले भने ।

अंश मुद्दा हाल्ने रिखीदेवी र मालतीले सुखुको दुई श्रीमती रहेको दावी गरेका थिए । रिखीदेवीले सुखुको पहिलो श्रीमती कवुतरी र मालतीले दोस्रो श्रीमती फूलझरी मल्लाहको छोरी भएको दावी गरेका थिए । जवकी मालती मल्लाहीन भारतको बस्ती जिल्लाको मेहदावलका भारतीय नागरिक बदल मल्लाहको जेठी श्रीमतीबाट जन्मिएकी र रिखीदेवी बदलकी कान्छी श्रीमती मैनादेवी मल्लाहीनको कोखबाट जन्मिएकी छोरी भएको लालजित र सन्तको दावी छ । ‘त्यसअघि मालती र रिखीदेवीले हामी सुखुको छोरीहरु हो भनेर दावी गर्दै सिद्धार्थनगर नगरपालिका–६ मा हाम्रो काका सुखुको मृत्युदर्ता माग गरेका थिए । तर, वडा कार्यालयले दिएन’, उनले भने, ‘त्यसपछि उनीहरुले उच्च अदालत बुटवलमा सिद्धार्थनगर नगरपालिका र वडा नं. ६ को कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले अदालतमा सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न सकेनन् ।’

सम्पति हडप्ने उद्देश्यले नक्कली छोरी बनेको थाहा भएपछि सम्पति तथा घरजग्गा हडप्ने प्रयास असफ भएको छ ।