लक्ष्मीनगरमा तीज मिलनः तीज भट्किलो र खर्चिलो भएको चिन्ता

बुटवल, भदौ ७ गते । लक्ष्मीनगर विकास केन्द्र बुटवलले तीज मिलन कार्यक्रम भएको छ । बुटवलको लक्ष्मीनगरमा हरितालिका शुक्रबार तीजको अवसरमा तीज मिलन कार्यक्रम आयोजना गरिएको हो । “क“ टोल विकास संस्था, लक्ष्मीनगर “ख“ टोल विकास, लक्ष्मीनगर “ग“ टोल विकास, कञ्चन टोल विकास र श्रीनगर टोल विकास संस्थामा आवद्द महिलाहरुले संयुक्त रुपमा तीज मिलन कार्यक्रम आयोजना गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्ने बक्ताले भट्किला र अस्लिल शब्द प्रयोग गरी तीजका गीतहरु बजारमा ल्याउने प्रवृत्तिले तीजको महत्व हराउंदे गएको चिन्ता गर्दै तीजलाई भड्किलो बनाउन नहुने बताए । तीजको मौलिक संस्कृति नयां पिँढीलाई बुझाउनु पर्ने बताउंदै उनीहरुले भने – तीजलाई शुसभ्य र मर्यादित बनाउनु पर्छ ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगर वडा न–४ का वडाध्यक्ष नरिश्वर पौडेलले तीजलाई चार्डको रुपमा मनाऔं, यसलाई सरल, सहज र पुर्खाहरुले मनाउँदै आएको मान्यतालाई संरक्षण गर्दै संस्कृतिलाई गिजोल्न नहुने सुझाए । तीजको मौलिक संस्कृति हराउँदै गएको छ । देखासिकी खर्चिलो पनि बढ्दै गएको छ । पहिले भन्दा अहिलेको तीजको मौलिक रौनकमा धेरै भिन्नता आएको उनले बताए ।

कार्यक्रममा बोल्दै लक्ष्मीनगर विकास केन्द्रका अध्यक्ष गोकर्ण ज्ञवालीले पछिल्लो समय मौलिक तीजको महत्त्व हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संस्कृति जगेर्ना र संरक्षणमा विशेषगरी महिला दिदीबहिनीहरुले नै ध्यान दिनुपर्ने जनाए ।

लक्ष्मीनगर विकास केन्द्रका उपाध्यक्ष गंगा पन्थीले माइति घरबाट पराई घर गएर बिताएका दिन साथिहरुसंग विछोड हुंदा दिनको दुखशुख साटासाट गर्ने पर्व तीजलाई आधुनिकता घुसाएर विकृति ल्याउन नहुने बताइन् ।

लक्ष्मी माविका प्रधानाध्यापक शान्ति शर्माले चार्डबाड मनाउने नाममा फेसन र प्रदर्शन गर्ने भन्दा पनि सभ्य रुपमा मौलिक पर्वहरुलाई मनाउने, संस्कृतिलाई थप सुसभ्य बनाएर आफु संग जे छ त्यसैलाई उपयोग गर्दै खुसीका साथ मनाउनु पर्ने बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न–४ का पूर्वअध्यक्ष टंक पराजुली, वडा सदस्य अरुण श्रेष्ठ, पुस्तक तथा स्टेसनरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल वस्याल, लक्ष्मीनगर विकास केन्द्रका सल्लाहकार शरद वली, केन्द्रका दुर्गा शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । लक्ष्मीनगर विकास केन्द्रका अध्यक्ष गोकर्ण ज्ञवालीको अध्यक्षता र लक्ष्मी श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।