कार्यबाहक अध्यक्ष र कार्यालय सचिबको स्वार्थ: जिल्ला खेलकुद भवन निर्माणमा प्रक्रिया नपुर्‍याएकोप्रति विरोध

बुटवल । बुटवलको हाटबजारस्थित रहेको रुपन्देही जिल्ला खेलकुद विकास समितिको जग्गामा निर्माणाधिन व्यावसायिक भवन अवैधरुपमा निर्माण हुन गइरहेको पाइएको छ । समितिको मुख्य भवन छोडेर चारैतिर खाल्टो खन्ने, पिल्लर हाल्ने काम हुँदै आएको छ । १८ कोठे व्यावसायिक भवन निर्माणकार्य न स्थानीय तहबाट अनुमति छ, न प्रदेश सरकार संग ? कुन ठेकेदारले बनाउँदै छ भन्नेसमेत गोप्य राखेर निर्माण अगाडि बढाइएको छ । यद्यपी, कुनैपनि सरकारी काम गर्दा सार्वजनिक सुचना बोर्ड राख्नुपर्ने प्रावधान छ । तर त्यो त्यहाँ छैन् ।

खेलाडीहरु खेलका लागि स्तरीय कबर्ड हलको अभाव झेल्दै आएका छन् । करीब १६ कठ्ठा जग्गा रहेको समितिमा एउटा ईन्डोर हल, कार्यालय प्रमुखको कोठा एउटा, पदाधिकारी र सदस्य बस्ने हल मात्रै छ । राखेपको प्रोजेक्टमा निर्माण भएको ट्रस लगाईएको खेल्ने ठाउँ बाहेक अब त्यहाँ ठाउँ नै छैन् । करीब दुई दर्जन खेल दर्ता रहेको रुपन्देहीमा अधिकांश खेलका प्रशिक्षक नै छैनन् । कराँते, तेक्वान्दो, टेबलटेनिस, क्रिकेट खेलबाहेक अन्य खेलका प्रशिक्षक छैनन् । यस्तोमा खेल विकास र पूर्वाधारमा जोड दिनुपर्नेमा समितिका कार्यबहाक अध्यक्ष र कार्यालय सचिव अहिले व्यावसायिक भवन निर्माणको तयारीमा जुट्नु गलत भएको खेलाडीहरुको भनाई छ ।

लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदा खेलकुद विकास परिषद लुम्बिनीमा नयाँ सदस्यसचिव तिरण गौतम मनोनित भए । सदस्य सचिव परिवर्तनसँगै १२ जिल्लाको खेलकुद विकास समितिमा नयाँ मनोनित नभएको बेला कर्मचारीहरु सलबलाएको खेलप्रेमीहरु बताउँछन । ‘नेतृत्व बिहीन हुँदा कर्मचारीहरु लाभ लिन अग्रसर भएको स्पष्ट देखिन्छ, एकजना खेलाडिले भने ।

बुटवल उपमहानगरपालिकाका पूर्व जनप्रतिनिधि तथा खेलप्रेमी यम बराल खेलकुदको जग्गालाई दुरुपयोग भएको भन्दै यसबारे बुझ्न खोज्दा कार्यालय सचिव राजेन्द्र श्रेष्ठले सूचना नदिएको गुनासो गरे ।

राखेपबाट स्वीकृती लिएर काम अघि बढाइएको भनिएपनि आवश्यकता थप प्रक्रिया नपुर्याएर काम थालिएकोमा तीव्र बिरोध हुूँदै आएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र थापा क्षेत्री (हरि) ले उपाध्यक्ष जय प्रसाद लाम्गादेलाई कार्यबाहक दिएको बेला राजनीतिक पहुँचका आधारमा ल्याइएको व्यवसायिक भवन शिलान्यास देखि नै बिबाद रहेको छ । व्यावसायिक भवनको काम अघि बढाउनुको रहस्य आर्थिक लाभ बुmिभएको छ ।

१८ वटा व्यावसायिक भवन निर्माण अघि बढ्दा केही व्यवसायीहरुले भने अग्रिम भाडा तिरेको पाईएको छ । भवन निर्माणको कुनै पत्तो नभएको बेला भाडा भने न्यूनतम ३ लाख रुपैयाँको दरले अग्रिम उठाइएको पाईएको छ । हिसाब हेर्दा १८ कोठाको व्यापारीहरुसंग पेश्की वापत लाखौ रुपैया उठाईएको बताइएको छ । कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर ठेकेदार कम्पनीले केही सटरवालासंग गरेको सम्झौतापत्र र बैंक भौचर अनुसार खातावालाको नाम ईन्द्र बहादुर पुन र राजेन्द्र श्रेष्ठको संयुक्त नाममा खाता देखिएको छ । ठेकेदार बनेका श्रेष्ठ कार्यालय सचिव हुन् ।

यता श्रमिक कम्युनिस्ट पार्टी नेपालले जिल्ला खेलकुद बिकास समिति रुपन्देहीको कार्यालयमा कालो ब्यानर टाँगेर विरोध जनाएको छ । उक्त पार्टीले सार्वजनिक सम्पत्ति माथि लुटखसोट मच्याएको भन्दै विज्ञप्ति मार्फत चेतावनी समेत दिएको छ । निर्माणकार्य नरोकिए थप चरणबद्ध विरोधका कार्यक्रमहरु अघि बढाइने जनाईएको छ ।

यस्ता छन् आरोपहरु
कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर ठेकेदार कम्पनीले अवैधानिक रूपमा बिना सुचना सटरवालासंग गरेको सम्झौतापत्र र बैंक भौचर अनुसार खातावालाको नाम ईन्द्र बहादुर पुन र कार्यलय सचिव राजेन्द्र श्रेष्ठको संयुक्त नाममा खाता देखिएको, अवैधानिक कार्य मार्फत कार्यलय सचिव राजेन्द्र श्रेष्ठ उनको नाम ठेकेदार कम्पनीमा आउनुले आर्थिक हिनामिना र चलखेल पुष्टि भएको, खेलकुद जस्तो गरिमामय सार्वजनिक सम्पत्तिलाई सटर निर्माण गरि व्यापारमा परिणत गर्न खोजिएको, खेलकुद ऐन, नियमावली र सार्वजनिक खरिद ऐन विपरीत सिलबन्दीको सुचना नै प्रकाशित नगरि ठेक्का सम्झौता गरिएको, संस्थालाई विकास र संरक्षण गर्न चाहाने दल वा संस्थाहरुलाई प्रलोभन दिई आफ्ना कर्तुतहरु लुकाउन खोजिएको, नागरिकको नैसर्गिक अधिकार संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उप दफा १ बमोजिमको सुचना हकलाई कुण्ठित गरेको आदि आरोपहरु लगाइएको छ ।