कफी सुपर जोन बन्दै गुल्मी

गुल्मी । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तह अन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो । परियोजनाद्वारा जोन तथा सुपर जोन कार्यक्रम अन्तर्गत ३२ वडामा क्षेत्र विस्तार गरिएको जिल्लास्थित प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गंगा पोख्रेलले बताए ।

परियोजनाद्वारा जिल्लाको चन्द्रकोट गाउँपालिका २, ३ र ४, कालीगण्डकी १ र ४, सत्यवती ८, छत्रकोट–१ र २, रुरुक्षेत्र ४, गुल्मीदरबार गाउँपालिका १, रेसुङ्गा नगरपालिका १४ मा सुन्तलाका क्षेत्र विस्तार गरिएको हो । त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी ३ र ४ र चन्द्रकोट ६ का तीन वडामा कफीको क्षेत्र विस्तार गरिएको छ ।

बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिका ५ र ८, मदाने–४ र ७, इस्मा १ र ३ तथा धुर्कोट ४ र ५ मा क्षेत्र विस्तार गरिएको छ । यसैगरी मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिका २, ३ र ४, चन्द्रकोट ४, छत्रकोट ३ र ५, गुल्मीदरबार ३ र ४ मा मकैको क्षेत्र विस्तार गरिएको छ ।

जिल्ला परियोजना कार्यान्वयन एवं समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन इकाई खुमलटारले क्षेत्र विस्तारका स्वीकृति प्रदान गरेको थियो । अनुगमन समितिले स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्ति लगायतका मापदण्डलाई क्षेत्र विस्तारका लागि छनोटको मुख्य आधार बनाएको हो । तिनै मापदण्डका आधारलाई टेकेर क्षेत्र विस्तार गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताएका छन् ।

परियोजनाद्वारा जिल्लाको १२ स्थानीय तहमध्ये मकै जोन कार्यक्रममा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ वडामा कार्यक्रम सञ्चालन गरिँदै आइएको खत्रीले जनाए।