मन्त्रीको दोस्रो इन्ट्रीः मदिरा, सुपारी र क्रसर व्यवसायीलाई कारोबारको अनुमति

काठमाडौँ । दामोदर भण्डारी दोस्रो पटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएर आएपछि मदिरा, सुपारी र क्रसर व्यवसायीहरुले कारोबारको अनुमति पाएका छन् । उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले त्यसका लागि कार्ययोजना नै बनाएर मन्त्रालयमा पेश गरेपछि मन्त्रीको निर्देशनबाट अनुमति पाएका हुन् । उद्योगीहरुको समस्यालाई एकातिर राखेर उनीहरुले सेटिङको अनुमति दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

‘गत साउनमै यो निर्णय भएको हो, औद्योगिक तथा लगानी प्रर्वद्धन बोर्डको बैठकले अधिकांश विवादास्पद निर्णयहरु गरेको छ’, मन्त्रालय स्रोतले भन्यो ।
औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४२ औँ बैठकबाट बोर्डका सदस्य सचिव यज्ञराज कोइरालाले १७ वटा एजेण्डा बोर्डमा पेश गरेका छन् ।

बोर्डमा पेश गरेका एजेन्डाहरुमध्ये अधिकांश सुपारी, मदिरा, खानी, बालुवा प्रशोधन सम्बन्धी उद्योग रहेका छन् । पछिल्लो समय औद्योगिक तथा लगानी प्रवर्धन बोर्ड नीतिगत भ्रष्टाचारको केन्द्र बन्दै गएको अवस्थामा मन्त्री भण्डारीको निर्देशन बेगर यो एजेण्डा बोर्डमा आउन नसक्ने स्रोतको दाबी छ ।

दोस्रो पटक मन्त्री दोहोरिएका भण्डारीले महानिर्देशक कोइरालालाई सुपारी आयात र निर्यातकर्तालाई सहज हुनेगरी निर्णय गराउन लागिपरेका छन् ।उद्योगहरुको उत्पादन क्षमता वृद्धि गर्नका लागि पनि बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्थाको दुरुपयोग गर्दै नीतिगत भ्रष्टाचार हुने गरेको छ ।

बोर्डको साउन १६ गते बसेको बैठकले पनि केही मदिरा उद्योग र गुट्खा उद्योगको क्षमता वृद्धि गरेको छ । बैठकको १५, १६, र १७ नम्बर एजेन्डामा गुड्खा उद्योगको क्षमता वृद्धि गर्ने निर्णय गरेको हो । जसमा मधु प्रोडक्टस् प्राइभेट फर्मको पूँजी तथा क्षमता वृद्धि गरेको छ । फ्रेग्रेन्सेस प्रा।लि। को पूँजी तथा क्षमता वृद्धि गरेको छ ।

यस्तै श्री श्याम उद्योग प्रा।लि। को पूँजी तथा क्षमता वृद्धि स्वीकृति प्रदान गरेको छ । यी उद्योगहरुले क्षमता बढाएर वस्तुको उत्पादन भन्दा पनि सुपारी आयातको कोटा बढाउनका लाग मात्रै अनुमति लिएका हुन् । अहिले औद्योगिक प्रयोजनका लागि मात्रै सुपारीको आयात गर्न पाइन्छ । उद्योग मन्त्रालयले नै नीतिगत भ्रष्टाचार गर्न सुनियोजित सुपारी आयत सम्बन्धी कार्यविधि बनाएर राखेको छ ।

मन्त्रालयले गोप्य राखेको सो कार्यविधि अनुसार औद्योगिक प्रयोजनका लागि मात्रै सुपारी आयात गर्न पाइन्छ । सुपारीको बजार भने नेपाल नभएर भारत हो । भारतमा सुपारी निकै महँगो हुने भएकाले नेपालमा आयात गरी केही सुपारी नेपालमै उत्पादन भएको भनी भारत निर्यात गर्ने गरिन्छ भने केही सुपारी अवैध रुपमा तस्करी गर्ने गरिन्छ ।

प्रतिकिलोमै राम्रो मुनाफा हुने भएपछि व्यवसायीहरु सुपारी ल्याउन उत्साही हुने गरेका छन् । झापा, मोरङ, सुनसरी, बाँके, रुपन्देहीबाट सुपारी भारततर्फ निकासी गरिँदै आएको छ ।